गोलबजार । सिरहाको सखुवाननकारकट्टी गाउँपालिका–५ इटहर्वाका राजेन्द्र राम बाह्र वर्षको उमेर छँदा माटोको मूर्ति बनाउन थाल्नुभएको हो । हाल उहाँ ६८ वर्षको हुनुभयो । देवी देवताको मूर्ति बनाउन रामले झण्डै चार दशक खर्चिनुभयो । उहाँले आवश्यकताअनुसार अन्य मूर्ति पनि बनाउने गर्नुभएको छ ।
सुरुआतमा मूर्ति बनाएर जीविकोपार्जन गर्न राजेन्द्रको परिवारलाई धौ धौ थियो । पछिल्लो समय भने यसबाट राम्रै आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ । “जीवन गुजाराको माध्यम यसैलाई बनाएको छु”, रामले भन्नुभयो । रामलीला तथा भजन कीर्तन मण्डलीसमेत सञ्चालन गर्दैआएका उहाँलाई उक्त क्षेत्रमा नचिन्ने कमै छन् । रामलीला सञ्चालन गर्न उहाँ सिरहा, सप्तरी, धनुषा तथा भारतको विहारसम्म पुग्नुहुन्छ ।
आधुनिक जीवनशैलीमा रमाउन थालेपछि माटोको मूर्ति बनाउनेको सङ्ख्या घट्दै गएको छ । तर रामलाई भने मूर्ति बनाउन भ्याइनभ्याइ छ । “युवापुस्ता माटाको मूर्ति बनाउन इच्छुक देखिदैन”, उहाँले भन्नुभयो ।
हिन्दू परम्परा तथा मिथिलाञ्चलमा मनाइने प्रायःजसो चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग गरिन्छ । चाडपर्वमा माटोबाट निर्मित रङगिविरङ्गी मूर्ति प्रयोग गरिएको छ । विशेषगरी कृष्णाअष्टमी, विश्वकर्मा पूजा, दसैँ, तिहार, छठ, सरस्वती पूजा, जितिया पर्व, गणेश, अनन्तचतुर्दशी, नागपूजा, महायज्ञलगायतमा मूर्ति खपत हुन्छ ।
देविदेवताका मूर्ति बनाउन राम बढी सक्रिय रहनुहुन्छ । उहाँले बुवा मधुलालबाट सो सीप सिक्नुभएको हो । “बुवाकै सङ्गतबाट सबै कुरा सिके”, उहाँले भन्नुभयो, “पहिला मूर्तिको पारश्रमिक न्यून पाइन्थ्यो, अहिले राम्रै आम्दानी हुन्छ ।” बुवाबाट आफुहुँदै उहाँले छोरालाई पनि मूर्ति बनाउने सीप बाँड्नु भएको छ । हाल उहाँका ३५ वर्षीय छोरा शिवराम पनि मूर्ति बनाउनमै सक्रिय हुनुहुन्छ । उहाँले पनि बुवा राजेन्द्रबाट सीप सिकिरहनुभएको छ ।
सबैजसोलाई कोरोना महामारीले प्रभावित पारेपनि राजेन्द्रलाई भने यसबाट खासै असर परेन । मूर्ति बनाउन उहाँलाई कोरोना कहरले पनि छेकेन । “कोरोना सङ्क्रमणका बेला पनि खासै समस्या भएन”, उहाँले भन्नुभयो, “बनाएका मूर्ति सबै बिक्री भए, छ जनाको परिवारको खर्च यसैबाट चलेको छ ।”
अहिले राजेन्द्र अरुबेला भन्दा बढी व्यस्त हुनुहुन्छ । बिहानदेखि रातिसम्म वडादसैँका पूजाका लागि विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । “वर्षमा दुई याम कामको निकै चाप हुन्छ । अहिले नौ ठाउँबाट मूर्ति बनाउन माग भएको छ”, उहाँले भन्नुभयो ।
यसबापत राजेन्द्रले रु आठ लाख ३० हजार पाश्रमिक लिनुभएको छ । सबै खर्च कटाएर रु पाँच लाख जति नाफा हुने उहाँको भनाइ छ । राजेन्द्रले छ जनालाई रोजगारसमेत दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “यही पेशाबाट गुजारा चलाएको छु, केही रकम जोहो पनि गरेको छु ।”