• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा



म्याग्दी । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ ।

एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो । बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।

अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

“यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो”, उहाँले भन्नुभयो । जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ ।

पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ । साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन् । रासस
–––