• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज



काठमाडौँ । ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक इनिङ्सको मद्दतले सनराइजर्स हैदरावादले आईपीएल–२०२४ को ५७ औं खेलमा लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ ।

१६६ रनको लक्ष्य पछ्याएको सनराइजर्सले ९ दशमलव ४ ओभरमा बिना कुनै क्षति लक्ष्य भेट्टायो ।

यो आईपीएल इतिहासमै १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज हो । डेक्कन चार्जर्सले २००८ मा मुम्बई इन्डियन्स विरुद्ध १२ ओभरमा १५५ रनको लक्ष्य पछ्याएको थियो ।

हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा लखनउले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

जवाफमा हैदरावादले ९.४ ओभरमा विना विकेट गुमाएर १६७ रन बनायो । खेलको प्लेयर अफ द म्याच ट्राभिस हेड भए । उनले ३० बलमा ८ चौका र ८ छक्का प्रहार गरी ८९ रनको अविजित इनिङ खेले ।

यो जितसँगै हैदराबाद (१४ अंक) अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने लखनउ छैटौं स्थानमा झरेको छ ।

एलएसजीका आयुष बडोनीले अविजित ५५ र निकोलस पुरनले ४८ रन बनाए । यी दुईबीच ९९ रनको साझेदारी थियो । कप्तान केएल राहुलले २९ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले मात्र १२ रन दिएर २ विकेट लिए । कप्तान प्याट कमिन्सले एक सफलता हात पारे । उनले क्रुणाल पाण्ड्यालाई पनि रनआउट गरे ।

एसआरएचका लागि ट्राभिस हेडले ३० बलमा अविजित ८९ रन बनाए भने अभिषेक शर्माले २८ बलमा अविजित ७५ रन बनाए । दुवैले १ सय ६७ रनको शतकीय साझेदारी गरे । उनीहरुले ३० बाउन्ड्री प्रहार गरे जसमा १६ चौका र १४ छक्का समावेश थिए । लखनउका बलरले विकेट लिन सकेनन् ।