• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रधुनाथ,नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा



म्याग्दी । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ ।

एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो । बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।

अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

“यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो”, उहाँले भन्नुभयो । जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ ।

पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ । साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन् । रासस
–––