११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार
अ अ+ अ-

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ ।

टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन् । पितापूर्खाको छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन् ।

मङ्गलबारदेखि मह सिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका–५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताउनुभयो । “हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ”, उहाँले भन्नुभयो, “हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको छ ।”

घर्तीका अनुसार ताराखोला–५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिरमौरीबाट दुई सय ६० लिटर मह काढिएको उहाँले बताउनुभयो । “मङ्गलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ”, ५१ वर्षीय घर्तीले भन्नुभयो, “१४ घारको मह काढ्न अझ एक÷दुई दिन लाग्न सक्छ ।”

ताराखोलाका अन्य भिरमा पनि एक÷दुई घार मौरी रहेको उहाँले बताउनुभयो । कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ । मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताउनुभयो ।

“मह सिकार साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ”, उहाँले भन्नुभयो, “पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ ।” मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ ९भ¥याङ० मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी ९डोरी०, चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताउनुभयो ।

“पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्”, उहाँले भन्नुभयो, “निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्टाइन्छ र तलपट्टि डालीमा थापिन्छ ।” मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उहाँको भनाइ छ ।

मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताउनुभयो । एक लिटर महलाई रु १५ सयसम्ममा बिक्री गर्ने गरिएको छ । “संस्कृति र परम्पराका रुपमा घरगाउँमा भिरमहको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ”, सचिव घर्तीले भन्नुभयो ।

ताराखोलाकै मपेसमा रहेको तीन घार भिरमौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा भिरमहलाई जोड्दै आएको गलकोट नगरपालिका–१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’कै आयोजना गरेको छ । वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले बताउनुभयो ।

पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उहाँको भनाइ छ । औषधिजन्य गुण र स्वास्थ्यवद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन् । मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताउनुभयो । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट–१० का अध्यक्ष भक्तबहाुदर काउचाले बताउनुभयो ।

गाउँलेले पुस्तौँदेखि मह सिकार गर्दै आएको उहाँको भनाइ छ । “अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन्” वडाध्यक्ष काउचाले भन्नुभयो, “पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ ।” महसिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

ताराखोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ । गलकोट नगरपालिका–४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ । पर्यटन प्रवद्र्धनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतु उक्त महोत्सव गर्न लागिएको वडाध्यक्ष भरतमान गुरुङले बताउनुभयो । रामबहादुर थापा/रासस