• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार



गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ ।

टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन् । पितापूर्खाको छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन् ।

मङ्गलबारदेखि मह सिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका–५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताउनुभयो । “हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ”, उहाँले भन्नुभयो, “हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको छ ।”

घर्तीका अनुसार ताराखोला–५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिरमौरीबाट दुई सय ६० लिटर मह काढिएको उहाँले बताउनुभयो । “मङ्गलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ”, ५१ वर्षीय घर्तीले भन्नुभयो, “१४ घारको मह काढ्न अझ एक÷दुई दिन लाग्न सक्छ ।”

ताराखोलाका अन्य भिरमा पनि एक÷दुई घार मौरी रहेको उहाँले बताउनुभयो । कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ । मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताउनुभयो ।

“मह सिकार साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ”, उहाँले भन्नुभयो, “पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ ।” मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ ९भ¥याङ० मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी ९डोरी०, चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताउनुभयो ।

“पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्”, उहाँले भन्नुभयो, “निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्टाइन्छ र तलपट्टि डालीमा थापिन्छ ।” मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उहाँको भनाइ छ ।

मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताउनुभयो । एक लिटर महलाई रु १५ सयसम्ममा बिक्री गर्ने गरिएको छ । “संस्कृति र परम्पराका रुपमा घरगाउँमा भिरमहको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ”, सचिव घर्तीले भन्नुभयो ।

ताराखोलाकै मपेसमा रहेको तीन घार भिरमौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा भिरमहलाई जोड्दै आएको गलकोट नगरपालिका–१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’कै आयोजना गरेको छ । वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले बताउनुभयो ।

पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उहाँको भनाइ छ । औषधिजन्य गुण र स्वास्थ्यवद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन् । मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताउनुभयो । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट–१० का अध्यक्ष भक्तबहाुदर काउचाले बताउनुभयो ।

गाउँलेले पुस्तौँदेखि मह सिकार गर्दै आएको उहाँको भनाइ छ । “अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन्” वडाध्यक्ष काउचाले भन्नुभयो, “पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ ।” महसिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

ताराखोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ । गलकोट नगरपालिका–४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ । पर्यटन प्रवद्र्धनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतु उक्त महोत्सव गर्न लागिएको वडाध्यक्ष भरतमान गुरुङले बताउनुभयो । रामबहादुर थापा/रासस