२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी

स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी
अ अ+ अ-

काठमाडौँ । आज हामी कुरा गर्दैछौँ एक यस्तो व्यक्तित्वको, जसले आफ्नो सीप, समर्पण र अथक मेहनतबाट नेपाली खानालाई विश्वस्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँ हुनुहुन्छ गोविन्द नरसिंह केसी । नेपालका अग्रणी एक्जिक्युटिभ सेफमध्ये एक श्री केसीले नेपाली परिकारको स्वादलाई विश्वका विभिन्न देशसम्म पुर्याउन सफल हुनु भएको छ ।

खाना केवल पेट भर्ने माध्यम मात्र होइन, यो कुनै देशको संस्कृति, परम्परा र पहिचान पनि हो । जब कुनै विदेशीले नेपाली खाना चाख्छ, उसले केवल स्वाद मात्र अनुभव गरिरहेको हुँदैन, उसले नेपालको संस्कृति, आतिथ्यता र जीवनशैलीलाई पनि महसुस गरिरहेको हुन्छ । अहिले उमेरले ७३ वर्ष टेक्नु भएका श्री केसीले सोल्टी होटलमा ३१ वर्ष सेवा गरेर अवकाश प्राप्त गर्नु भएको थियो । उहाँ आजभोलि प्रशिक्षण, फूड फेस्टिभलमा निर्णायक, सामाजिक कार्यहरुका साथै नागार्जुन रिसोर्ट र लाजिम्पाटको होटल बुकीमा परामर्श सेफका रुपमा कार्यरत हुनुहुन्छ ।

अहिले नेपाली सेफहरु देशभित्र र बाहिर लाखौंको संख्यामा छन् । हस्पिटालिटी क्षेत्रमा सेफको जागिर निकै सम्मानका साथ लिइने नाम हो । राम्रो कमाईका साथै सम्मान पनि हुने भएकाले आजभोलि नेपालमा एक सयभन्दा बढी कलेज तथा तालिम केन्द्रहरु खुलेका छन् । सेफको पेसालाई थप सम्मानजनक र विस्तार गर्न गोविन्द नरसिंह केसी जस्ता अभियन्ताहरु सेफ एसोसिएसन अफ नेपाल पनि खोलेर सक्रिय हुनुहुन्छ । यस संस्थाले नेपालभित्र सेफको पेसागत दक्षता अभिवृद्धिमा विभिन्न कार्यक्रम गर्नुका साथै विश्वस्तरका सेफहरुका संस्थासँग भाइचारा सम्बन्ध पनि गाँस्दै गएको छ ।

एचएमटिसीको तालिम र सोल्टीमा प्रवेश

नेपाल सरकारले हस्पिटालिटी सम्बन्धी तालिम दिनेगरी एचएमटिटिसी (His Majesty Tourism and Training Centre) नामको संस्था खोलेको थियो । यसले सेफ बन्न चाहनेहरुका लागि पनि तालिम दिन्थ्यो । कुरा आजभन्दा झण्डै ४९ वर्ष अघि सन् १९७७ तिरको कुरा हो । मानिसहरुलाई सेफ (कुक) बन्ने कुराले त्यति आकर्षित गर्दैनथ्यो । तर एचएमटिसीमा राम्रो अध्ययन र सीप देखाउनेहरुले सोल्टी होटलमा इन्टर्न गर्न पाउँथे ।

राजदरबारका लागि खाना तयार गर्ने भनेर नाम कमाएको यो होटलमा काम गर्न पाउनु नै शानको कुरा थियो । म पनि फुड प्रिपरेसन एन्ड कन्ट्रोल विषयको तालिम सकेर सोल्टीमा इन्टर्न गर्न छानिएँ । म बिहान ८ बजे गएर राति १२ बजेसम्म दत्तचित्त भएर काम गर्थें । त्यहाँ तालिम गराउने गोराहरु थिए । उनीहरु कोही सस बनाउने, कोही चिकेन रोस्ट बनाउने, कोही पेस्ट्री बनाउँथे । उनीहरुले हामीलाई पश्चिमा (इन्टरकन्टिनेन्टल) खाना बनाउन सिकाए । होटलका सञ्चालक राय बहादुर मोहन सिंह ओबराय थिए । उनको व्यवस्थापन निकै कडा थियो । ओबराय भारतबाट आउनु तीन दिनअघि देखि नै यहाँ त्राहिमाम हुन्थ्यो । अनुशासन, लगनशीलता र समर्पण विपरीत भए उनले सहने कुरै हुँदैनथ्यो ।

सोल्टीमा मेरो एक वर्षे तालिम सकियो । भाग्यवश, मलाई सोल्टीमै काम गर्ने अवसर जुट्यो । कामप्रतिको समर्पण र लगावले मलाई सोल्टी छोड्न पनि रुचि भएन, मैले त्यहाँ ३१ वर्ष सेवा गरें । यहाँ पैसा, सम्मान र शान सबै थियो । साथीले भनेझैं मैले सोल्टीको सेफ बनेर विश्वका विभिन्न देश घुम्ने अवसर पनि पाएँ । सन् १९८४ मा मलाई दिल्लीमा तालिम लिने अवसर पनि जुट्यो । म इटाली, टर्की, फ्रान्स, भारतका विभिन्न शहर, सिंगापुर, चीन पुगेको छु । म त्यहाँ नेपाली, भारतीय र इटालेली खानाको प्रबर्धनका लागि गएको थिएँ ।

***

नेपाली खाना धेरैले रुचाउन थालेका छन्

नेपाली खानालाई पनि अहिले धेरै मानिसले रुचाउन थालेका छन् । नेपाली रैथाने खाना निकै स्वादिलो रहेछ भन्दै धेरैतिर माग बढ्दैछ । ढिँडो, गुन्द्रुक, सिन्की, हिङ, विभिन्न किसिमका नेवारी परिकारलाई निकै स्वाद मानेर खाने गरेको पाइन्छ । नेपाली खानाका विशेषता, महत्व, स्वाद, मसला जस्ता विविध विषय समेटेर आधिकारिक पुस्तक तयार गर्नुपर्ने खाँचो छ ।

अहिलेका युवाले नेपालीपन भएका मसला नै प्रयोग नगर्ने हुन् कि भन्ने चिन्ता बढ्दो छ । शुद्ध काँचो तोरीको तेल, सिलौटामा लस्याकलस्याक पिसेको जिरा मरिच, शुद्ध घिउ (चिउरीको घिउ, डाल्डा) प्रयोग गर्नु नेपालीपन हो । भारततिरको धेरै चिल्लो र पिरो नेपालीले खासै रुचाउँदैनन् । हामी यहाँ भारतीय मसला नै भए पनि पातलो झोल हालेर स्वादिलो बनाउँछौं जसलाई विदेशीले पनि औधी मन पराउँछन् ।

हामी राजदरबारका लागि बँदेल, मृग, हरिण र दुम्सी मात्र होइन कालिजका परिकार पनि तयार गरेर लैजान्थ्यौं, र त्यसमा शुद्ध नेपाली मसला प्रयोग गरिन्थ्यो । यसले परिकारमा खास स्वाद सिर्जना गथ्र्यो । विगतका यी दरबारिया परिकारहरु आजभोलि देशका विभिन्न भागमा खुलेका होटल, रेष्टुराँमा पाइन थालेको छ ।

***

मास्टर सेफ को हो ?

अहिले धेरैजसो सेफले आफूलाई मास्टर सेफ भन्न थालेका छन् । यो ठीक होइन । मेरो विचारमा मास्टर सेफको महत्व भिन्दै हुन्छ । कुनै पनि सेफ भन्दा बहुप्रतिभा भएको व्यक्ति मास्टर सेफ हो । सिकाई कहिल्यै सकिँदैन । सेफले पनि निरन्तर सिक्ने चाहना राख्नुपर्छ । अरु देशको खाना मात्र बनाउन सिक्ने होइन, नेपाली खानाको पनि प्रबर्धन गर्न ध्यान दिनु पर्दछ । यो राष्ट्रप्रेम पनि हो ।

***

खाना के हो ?

खाना निकै संवेदनशील र जटिल विषय हो । एउटै घरभित्र परिवारका सदस्यपिच्छे खानाहरु फरक हुन्छन् । त्यसैले यो व्यक्तिको चाहना र रुचिको विषय हो । खासमा खाना एउटा पवित्र चिज हो, अमृत समान वस्तु हो । यस्तो खानालाई जतिसक्दो राम्रो, मिठो, शुद्धसँग तयार गरिनु पर्दछ । खानामा विभिन्न पौष्टिक तत्वहरु समावेश हुनु पर्दछ । कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, एन्टी अक्सिडेन्ट खानाले हामीलाई शक्ति दिन्छ, रोग प्रतिरोधी क्षमता बढाउँछ ।

हामीले खानालाई स्वादिलो मात्र होइन पोषणयुक्त बनाउन चाह्यो भने सेफहरुले बनाउन सक्छन् । होटल, रेष्टुराँका सेफले यसमा विशेष ध्यान दिनुपर्दछ । उनीहरुले नेपाली खानाका बारेमा सामाजिक संजालबाट पनि प्रचार प्रसार गर्नु पर्दछ । आजभोलि खुलेका होमस्टेमा नेपाली खाना सहित सांस्कृतिक कृयाकलाप भइरहेको सुन्दा खुसी लाग्छ ।

***

रोयल ब्यान्क्वेटको शान

विगतमा राजदरबारका लागि रोयल खाना तयार गर्ने मुख्य जिम्मेवारी सोल्टी होटलको थियो । त्यहाँ सेफका रुपमा काम गर्ने प्रमुख सदस्यका रुपमा म पनि सामेल थिएँ । दरबारमा हुने ब्यान्क्वेटमा अनेक परिकार राखिन्थे, तर धेरै परिकार स्वदेशी नै हुने गर्दथे । मानिसहरु मलाई सोध्दथे, राजारानीले के खान्छन्, कस्तो खान्छन्, स्वदेशी खान्छन् कि विदेशी ? राजा वीरेन्द्रको जीवनशैली साधारण थियो । उनी सकभर नेपाली नै खाना खान रुचाउँथे । रोयल भनिए पनि खानाकै लागि दरबारमा त्यतिबिधि फजूल खर्च गर्ने गरेको देखिन्नथ्यो । नेपाली र पश्चिमा दुबै किसिमका खाना सर्भ गर्ने गरिन्थ्यो ।

मलाई सम्झना छ, २०५८ को जेठ १९ गते शुक्रबार राजदरबार हत्याकाण्ड भएका दिन भने सोल्टीबाट खाना गएको थिएन । विगतमा हरेक शुक्रबार सोल्टीबाटै खाना जान्थ्यो, तर त्यो दिन गएन । मैले दरबारमा राजा वीरेन्द्रको वंशनाश भएको खबर लन्डनमा रहेका मेरा साथीबाट राति सुनेको थिएँ ।

एक पटक भारतका राष्ट्रपति ज्ञानी जैल सिंह नेपालको भ्रमणमा थिए । दरबारमा ब्वान्क्वेट भोज थियो । त्यहाँ सिंह जी ले तोरीको साग र मकैको रोटी खाउँ भन्नुभयो । राति ११ बजिसकेको थियो । हामीले हतारहतार तोरी खोज्यौं, र मकैको पिठोबाट रोटी बनाएर दियौं । सिंह ज्यादै खुसी हुनु भयो ।

सार्क सम्मेलनमा सहभागी हुन आएका भारतका प्रधानमन्त्री राजीव गान्धीलाई पनि मैले खाना सर्भ गर्ने मौका पाएको छु । उहाँलाई फ्रेन्च माछा मन पर्थ्यो । उहाँलाई मैले “फिलेट दी पेपिट एलेसोल” अर्थात् फेन्च माछाको परिकार बनाएर दिएको थिएँ । उहाँलाई अति मिठो लागेछ । उहाँले मलाई १० हजार भारु टिप्स दिनुभयो । बेनजिर भुट्टोसँग बसेर पनि खाना खाएँ । परराष्ट्र मन्त्रालयले कुन विदेशी पाहुनाले के खान्छन् भनेर प्रोटोकल नै बनाएर दिएको हुन्थ्यो ।

मैले भारतका ठुल्ठूला कलाकारहरु अमिताभ बच्चन, शक्ति कपुर, गुल्सन ग्रोबर, रानी मुखर्जी, नाना पाटेकर, मनिषा कोइराला, आरडी बर्मन, धर्मेन्द्र, जितेन्द्र, नसुरुद्दिन शाह लगायतलाई पनि खाना ख्वाएको छु ।

***

अनौठा परिकारको स्वाद लिनेहरु …

श्रीलंकाका राष्ट्रपति विक्रम रणसिंघे एक पटक नेपालको राजकीय भ्रमणमा आए । बिहानको ब्रेकफास्टमा रातो खोर्सानीको पेस्ट खाने बताए । यो अकबरे जस्तै ज्यानमारा खोर्सानी हो । खोर्सानीको पेस्ट बनाएर पाउरोटीमा राखेर दिनुपर्ने रहेछ । मानिसहरु पिरो खोर्सानी खान्छन् तर यसरी खोर्सानी खाएको आजसम्म मैले देखेको छैन ।

अर्को, एकपटक स्वीटजरल्यान्डका राष्ट्रपति नेपाल भ्रमणका आएका थिए । उनले बिहानको ब्रेकफास्टमा मेवा खाने बताए । यसको बोक्रा छिलेको हुनुपर्ने तर भित्रका बियाँ झिक्न नहुने । विज्ञानले भन्छ, मेवाको बियाँ (दाना) स्वास्थ्यका लागि अति हानिकारक हुन्छ । तर उनले यही खाने गरेका रहेछन् । सुन्दै अनौठो लाग्ने ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल गयुमलाई भने बोक्रा सहितको म्यादामास (बकुल्ला) मन पर्ने रहेछ । बकुल्लाको बोक्रा कडा हुन्छ । हामीले २ दिन अघिदेखि भिजाएर राख्नुपथ्र्यो, र उसिनेर पटपटक फुट्ने हुन्थ्यो । त्यसमा गोलभेडाको सस राखेर खाने गरेको पाइयो ।

***