काठमाडाैँ । रुपन्देहीको भैरहवास्थित देवकोटा चोकमा आयोजित सिद्धार्थ फुड फेस्टिभल २०२६ भव्य रूपमा सम्पन्न भएको छ। चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा असोज २४ र २५ गते सञ्चालन भएको महोत्सवमा करिब ३० हजार दर्शकको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
महोत्सवमा चर्चित गायक ‘स्टेज किङ’ दुर्गेश थापा, भोजपुरी डान्सर प्रीति पासवान, विभिन्न स्थानीय ब्यान्ड तथा अन्य कलाकारहरूको सांगीतिक र मनोरञ्जनात्मक प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। गायिका तथा कार्यक्रम प्रस्तोता प्रशन्ना पाण्डेको आकर्षक प्रस्तुति र कार्यक्रम सञ्चालन शैलीले पनि महोत्सवमा विशेष आकर्षण थपेको थियो।
सुन्दर रूप, सरल स्वभाव र सुमधुर स्वरकी धनी प्रशन्ना पाण्डेले आफ्नो प्रभावशाली व्यक्तित्व, उत्कृष्ट प्रस्तुति र सहज कार्यक्रम सञ्चालनमार्फत दर्शक तथा श्रोताको मन जित्न सफल भएकी थिइन्। उनको प्रस्तुति महोत्सवको स्मरणीय पक्ष बनेको थियो।
महोत्सवमा एक सयभन्दा बढी फुड स्टल राखिएका थिए। ती स्टलमा विभिन्न स्वादका परिकार उपलब्ध गराइएको थियो। खानाका पारखीहरूले विविध परिकारको स्वाद लिन पाउनुका साथै सांगीतिक कार्यक्रम, नृत्य र मनोरञ्जनको भरपूर आनन्द लिएका थिए। स्वादिष्ट खानाका परिकार र कलाकारहरूको प्रस्तुतिले महोत्सवलाई खानपान तथा मनोरञ्जनको साझा उत्सवका रूपमा स्थापित गरेको थियो।
महोत्सवले भैरहवाको पर्यटन प्रवर्द्धन, स्थानीय व्यापारको विकास तथा कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याएको आयोजकको विश्वास छ। साथै, स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने र कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरेको थियो।
यस प्रकारका महोत्सवले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन, उपभोक्तालाई विभिन्न परिकार तथा उत्पादनसँग परिचित गराउन र मनोरञ्जनका माध्यमबाट समुदायलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महोत्सव सफल बनाउन कार्यक्रम व्यवस्थापक विनोद खरेललगायत सम्पूर्ण आयोजक टोली, कलाकार, व्यवसायी, दर्शक तथा सहयोगीहरूको योगदान रहेको थियो।
स्वाद, संगीत र मुस्कानलाई एकै ठाउँमा जोड्दै सम्पन्न सिद्धार्थ फुड फेस्टिभल २०२६ ले भैरहवामा उत्सवमय वातावरण सिर्जना गर्नुका साथै स्थानीय पर्यटन, व्यापार र मनोरञ्जन क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।








