८ कार्तिक २०८१, बिहीबार
,
Latest
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भिलेन बन्ने रहर छ’: अभिनेता धीरज मगर



अ+ अ-

काठमाडौँ । धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित हुनहुन्छ । बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत डेब्यु गर्नुभएको थियो । कोरियोग्राफर रेनाशा बान्तवा राईको निर्देशनमै उहाँले दोस्रो चलचित्र ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरेको भएता पनि प्रदर्शनको टुङ्गो लागेको छैन । यद्यपि उहाँले अभिनय गर्नुभएको तेस्रो चलचित्र ‘बाबरी’ दसैँमा प्रदर्शन हुँदैछ । यसैकारण अहिले उहाँको दिनचर्या फेरिएको छ ।

पहिलो चलचित्रले नै राम्रो व्यापार गरेपछि उहाँ सर्वाधिक खोजिने अभिनेतामा पर्नुभयो । उहाँको उपस्थितिले दर्शक हलसम्म आउनुहुन्छ भन्ने विश्वास छ । तर उहाँ आफूलाई अभिनय क्षमताले अगाडि बढाउने सोचमा हुनहुन्छ । “स्टारडम त केही समयको हुन्छ । म अभिनेता बन्न चाहन्छु । मेरो अभिनयका कारण दर्शक हलसम्म आउनुहोस् भन्ने म चाहन्छु”, उहाँले भन्नुभयो । उहाँ सुन्दरता आवरण भन्दा पनि अभिनयमा देखाउने तयारीमा हुनहुन्छ । तेस्रो चलचित्रमा काम गरिसकेपछि उहाँमा देखिएको परिवर्तन हो यो ।

बेलायतबाट नेपाल आउँदा देखेको सपना विस्तारै साकार हुँदै गर्दा उहाँलाई आगामी दिनको यात्रा गर्न सहज पनि बनाएको छ । “मैले पाएको मायाले दायित्वबोध गराएको छ । किनकी म यहाँ कलाकार बन्न आएको थिएँ । मैले पाएको दर्शकको साथलाई शब्दमा व्यक्त गर्न सक्दिन”, अभिनेता मगरले भन्नुभयो ।

उहाँ मात्र नभई ‘पपुलर’ अभिनेतामा पर्ने अनमोल केसी, प्रदीप खड्का पनि स्टारडमको छायाँबाट बाहिर निस्किने चलचित्रमा काम गरिरहनुभएको छ । प्रदीप अभिनित ‘प्रकाश’ प्रदर्शन भइसक्यो भने अनमोलले ‘छड्के २’ मा अभिनय गरिरहनुभएको छ ।

प्रदीपलाई ‘प्रकाश’ को भूमिकामा देखिँदा सहजै चिन्न नसकिएको प्रतिक्रिया दर्शकमार्फत प्राप्त भएको थियो । अनमोलले पनि आफूलाई फरक देखाउन ‘धुपौरे’ नामक चलचित्रमा अभिनय गर्ने तयारी गर्नुभएको थियो । त्यो नबन्ने भएपछि त्यस्तै चलचित्रको खोजीमा रहेको अनमोलले ‘छड्के’ को सिक्वेल रोज्नुभएको हो । उहाँ यसको छायाङ्कनमै हुनहुन्छ । पपुलर अभिनेतामै पर्ने सलिनमान बानियाँले पनि दोस्रो चलचित्र ‘यात्रा ः द म्युजिकल भ्लग’ मा स्टारडमबाट बाहिर निस्किने प्रयास गर्नुभएको थियो ।

पछिल्लो समय देखिएको यसकिसिमको परिवर्तनलाई धीरज सकारात्मकरूपमा लिनुहुन्छ । “हामीभित्र बढेको चलचित्रको चेतनाले यस किसिमको परिवर्तन देखिएको हो । आफ्नो अनुहार मात्र नभई अभिनय देखाउनु पर्छ भन्ने चेतना बढ्नु सुखद हो । हामी प्रयास गरिरहेका छौँ”, अभिनेता मगरले भन्नुभयो । त्यसो त धीरज आफू देखिएकै कारण चलचित्र चल्नेमा सहमत हुनहुन्न । “स्टारडम त सकिन पनि सक्छ । तर म कलाकार भएपछि त्यो कलाकारिता रहिरहन्छ । मलाई व्यक्तिगतरूपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो चलचित्र हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारका रूपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु”, उहाँले भन्नुभयो ।

डेब्यु चलचित्रमा सफ्ट लभरब्वाईको चरित्र निर्वाह गर्नुभएका उहाँले ‘बाबरी’ मा आफूलाई पूर्णरूपमा परिवर्तन गर्नुभएको छ । प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा दर्शक मात्र नभई चलचित्रकर्मीलाई समेत उहाँको स्वर होइन कि भन्ने लागेको थियो । ‘सानो राजा साहेब’ का रूपमा उहाँ फरक देखिनुभएको छ । यो चरित्रमा पूर्वयुवराज पारस शाहबाट पनि प्रभावित छ । बाहिरी हाउभाउ जस्तै बोल्ने, हिँड्ने शैली मिल्न सक्छ ।

“सम्पन्न ठकुरी परिवारको छोराको भूमिकामा देखिन लाग्दा मैले उहाँहरुको बारेमा बुझेँ । मैले साथीहरुलाई सोधेर उहाँहरुको शैली र स्वभावलाई पनि नियालेँ । साथै छायाङ्कन हुनु केही दिन अगाडि म पूर्व पुगेर त्यहाँको जीवनशैलीलाई नियालेँ । स्थानीय युवालाई हेरेर नै चरित्रलाई पूर्णरूपमा तयार गरेको हुँ”, अभिनेता मगरले भन्नुभयो । यो परिवर्तन निर्देशक सुरेन्द्र पौडेलकै कारण सम्भव भएको उहाँ बताउनुहुन्छ ।

निर्देशक पौडेलले फरक गेटअपसँगै भूमिका प्रस्ताव गर्नुभएको थियो । पहिलोपटक सुन्दा स्वाभाविक नसुनिएता पनि अहिले दर्शकले यसलाई स्वीकार्नुभएको छ । धीरजले बोल्नुभएको संवाद सामाजिक सञ्जालमा पपुलर भएको पाइन्छ । उहाँ भन्नुहुन्छ, “सफ्ट भ्वाइसलाई यसमा फरक बनाएँ । किनकी विज्ञानमा सबैलाई थर्काउने, अलि होच्याउने स्वभाव छ । निर्देशकले गर्नुभएको विश्वासमा मैले मेहनत गरेको हुँ ।” दर्शकले रुचाइरहनु भएको भूमिकाभन्दा फरक देखिँदा पाइरहेको प्रतिक्रियाले धीरज खुसी हुनुहुन्छ । चार वर्षपछि पर्दामा आउँदै गर्दा पाइरहेको प्रतिक्रिया सकारात्मक छ ।

लभरब्वाईकै चरित्रमा प्रस्ताव आइरहेता पनि उहाँ सुन्दरताभन्दा पनि अभिनयको चर्चा होस् भन्ने चाहनुहुन्छ । “म फरक गर्ने प्रयासमा छु । किनकी एउटा अभिनेतामा लुक्ससँगै राम्रो अभिनय चाहिन्छ । म दुवैलाई हुने अभिनेता बन्न चाहन्छु”, उहाँले भन्नुभयो । उहाँ आफूलाई कलात्मक अभिनेताका रूपमा कमर्सियल भ्यालुसँग पनि बलियो बनाउन चाहनुहुन्छ ।

हिरोको रूपमा दर्शकको प्रिय बनिसक्नुभएका धीरजमा भिलेन बन्ने रहर छ । सकारात्मक भूमिकाभन्दा अभिनय क्षमतालाई देखाउन नकारात्मक भूमिका प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । “मलाई सस्पेन्स र थ्रीलर चलचित्र मन पर्छ । त्यसैले पनि भिलेन बन्दा अझै कलाकारिता प्रस्तुत गर्न सक्छु जस्तो लाग्छ । मलाई सुहाउँदो अफर आयो भने म भिलेन बनेर प्रस्तुत हुन तयार छु”, उहाँले भन्नुभयो ।

‘बाबरी’ मा धीरजसँगै अदिति बुढाथोकी, धीरज नाडकर मुख्य भूमिकामा हुनहुन्छ । उहाँहरुको त्रिकोणात्मक प्रेम कथा चलचित्रमा देखाइएको छ । यसको छायाङ्कन नेपालसँगै सिक्किममा गरिएको छ ।