२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट उद्धार गरिएका १६ बालक अभिभावकको जिम्मामा



अ+ अ-

त्रिशूली । नुवाकोटको किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पुर्याइएका १६ बालकलाई नेपाल फर्काएर शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ ।

गत भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो । नुवाकोट घर भएका दश र रसुवा घर भएका पाँच बालकलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयको रोहवरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापनागृहले अभिभावकलाई बुझाएको छ ।

कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार तीनसाता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदूतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो ।

सामाजिक संस्थासँगको सहकार्यमा उद्धार गरिएका बालकको अभिभावकलाई बोलाएर घर पठाइएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरुलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो ।

“गुम्बामा प्राथमिकतहदेखि पिएचडीसम्मको लामा अध्ययनका लागि भनेर अवैधरुपमा लैजान लागेको जानकारी पाएलगत्तै उद्धार गर्न केन्द्रित भयौँ ।” प्रहरी प्रमुख पण्डितले भन्नुभयो, “उनीहरुलाई लैजान कानुनी प्रक्रिया पूरा नगरेको तथा लैजाने उद्देश्य खुल्न नसकेकाले मानव बेचबिखन तथा ओसारपसारलगायत अपराधसमेत आकर्षित हुनेसक्ने हुँदा सोही बमोजिम अनुसन्धान अघि बढाइने छ ।”

मानव बेचबिखन तथा ओसारपसार अभियोगको हदम्याद नहुने भएकाले बालकलाई पठाउने अभिभावक, विभिन्न स्थानबाट सङ्कलन गरेर लैजाने किस्पाङ गुम्बा र सम्लग्न व्यक्तिको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुलाई लैजान नुवाकोट र रसुवाका वडा कार्यालयले क्षेत्राधिकारभन्दा बाहिर हुने गरेर सिफारिस गरेको पत्रसमेत पाइएको छ भने यसअघि पनि भारतको गुम्बामा किस्पाङ गुम्बाबाट ठूलो सङ्ख्यामा बालक लामा अध्ययनको लागि भनेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।