९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

‘खैँजडीका तालमा लोकभजन गाउँदा र नाच्दा एकापसमा आत्मीयता बढ्छ’

‘खैँजडीका तालमा लोकभजन गाउँदा र नाच्दा एकापसमा आत्मीयता बढ्छ’
अ अ+ अ-

सिन्धुपाल्चोक। पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका–८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपर्नुभएको छ । सत्तरी वर्षीया कोइराला केउरिनी–दुवाचौर खँैजडी भजन संरक्षण समिति बनाएर लोकभजनको संरक्षण र संवद्र्धनमा लाग्नुभएको छ ।

उहाँ अहिले मेलम्ची नगरपालिकाभित्र मात्रै नभई सिन्धुपाल्चोक जिल्लाकै विभिन्न गाउँ–गाउँमा पुगिरहनुभएको छ । हिन्दू धर्म–संस्कृतिमा परापूर्वकालदेखि नै प्रचलनमा रहेको लोकभजनमा रामचरित्र, कृष्णचरित्र, महाभारतलागायतका पौराणिक कथालाई लयबद्धरूपमा छोटो टुक्का बनाइन्छ । सो टुक्कालाई खैँजडीको तालमा लयबद्धरूपमा गाउँदै नाचिन्छ खैजडी भजनमा ।

परापूर्वकालदेखि चल्दै आएको संस्कृति पुस्तान्तरण नहुँदा भने समस्या भएको छ । पछिल्लो पुस्ताले सिक्न नचाहेकै कारण खैँजडी लोकभजन सङ्कटमा परेको छ । पुरानो लोकसंस्कृतिलाई बचाउन राज्यस्तरबाटै युवापुस्तालाई प्रेरित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने भजन समूहको भनाइ छ । तर मेलम्ची–७ दुवाचौरका दिनेश पौडेल भने कोइराला बाजेसँगै हिँडेर अहिले कथा भट्याउन सिकिरहनुभएको छ । बाइस वर्षीय पौडेल संस्कृति संरक्षण गर्दै नयाँपुस्तालाई पनि यसको महत्वका बारेमा बुझाउन आफू सक्रियतापूर्वक लागेको बताउनुहुन्छ ।

भजन गाउनकै लागि समूह बनाएर रातभरि पनि गाउँदै नाचेको अनुभव छ कोइरालासँग । “पहिले भजन गाउँदाका रौनक छुट्टै हुन्थ्यो । सामाजिक सद्भाव र एकापसमा आत्मीयता बढ्थ्यो”, आफ्नो लोकसंस्कृति लोप हुँदै गएकामा उहाँले दुःखेसो पोख्नुभयो, “अहिलेका छोरा नाति आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सेर पश्चिमी संस्कृतिका भड्किला गीतमा रमाइरहेका भेटिन्छन् ।” सत्यनारायण पूजा, व्रतबन्ध, अन्य धार्मिक कार्यमा खैँजडीको तालमा भजन गाएर नाच्ने गरेको उहाँले सुनाउनुभयो । आफ्नो विगत सम्झिँदै कोइरालाले भन्नुभयो, “छोरा–नाति सबैले खैँजडीको तालमा लोकभजन गाउन, नाच्न बिर्सिए । खैँजडी लोकभजन जोगाउनकै लागि भजन समूहलाई साथ दिएको हुँ ।” उहाँको जाँगर र फूर्ति देखेर पनि खैँजडी भजन समूहले उहाँलाई भरपुर साथ दिइरहेका छन् ।

बाउबाजेले मान्दै र मनाउँदै आएका केही संस्कृति पछिल्लो पुस्ता अपनत्व नलिँदा लोपोन्मुख हुँदै छ । गाउँघरमा अत्यधिक रुचाइएका यस्ता संस्कृति पुस्तान्तरणमा अझै समस्या छ । युवावर्गको आकर्षण, चासो, लगनशीलता संस्कृति संरक्षणको तत्कालीन आवश्यकता हुन् । अहिले पनि केही युवाहरूमा यसको चासो भने रहेको पाइन्छ । लोलीमा लोली मिलाउनेहरूको भन्दा पनि अहिले कथा प्रस्तुतकर्ताको अभाव छ । भजन संरक्षणका लागि झ्याली, खँैजडी, मादललगायत आवश्यक सामग्रीको अभाव पनि त्यत्तिकै छ । स्थानीय तहलागायत विभिन्न निकायले यसबारेमा सहयोग गरेमा सजिलो हुने अपेक्षा कोइरालाको छ ।

खैँजडीसँगै कोइरालासँग बालनटोली पनि छ । विभिन्न चाडपर्व, धार्मिककार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरूको बालन नाच लोप हुन थालेकामा बिचारी भारती चिन्तित हुनुहुन्छ ।

बाजेपुर्खाले परम्परागतरूपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आए पनि अहिलेका पुस्ताले बालन नाच चटक्कै भुलेकाले संस्कृति लोप हुने खतरा बढेको भारती बताउनुहुन्छ । बालन नृत्य दिनानुदिन लोप हुन थालेको विषयमा मेलम्ची–७ का पिताम्बर भारती त निकै दुःखेसो व्यक्त गर्नुहुन्छ । उहाँले गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ “यस्तो कार्यले बाजेपुर्खाको पालादेखि निरन्तर चल्दै आएको यो संस्कृति बचाउँन सहयोग मिल्छ ।”

अहिले यस्ता पर्वमा डिस्को, हिन्दी, अङ्ग्रेजी गीत गुञ्जने र अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको स्थानीयवासी भारतीको भनाइ छ । विगतमा बालन नृत्य गर्दा धार्मिकग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरूपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा संस्कृति संरक्षण समिति सदस्यहरू बताउँछन् ।

हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको खाँट्टी परम्परामा आधारित बालन नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो लोप हुने अवस्थामा पुगेको उनीहरुको ठहर छ । अबका युवालाई खैँजडी भजनसँगै बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्ने र प्रत्येक चाडपर्वमा भजनकीर्तन बालन नृत्य अनिवार्यरूपमा प्रदर्शन गर्ने हो भने यो संस्कार र संस्कृतिको संरक्षण हुने उनीहरूको भनाइ छ ।

हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा पाका स्थानीयवासीको पनि जोड छ । स्थानीयवासी सिद्धिनारायण श्रेष्ठ यसको जगेर्ना गर्ने जिम्मा स्थानीय तहको पनि रहेकाले यस विषयको तालिम सञ्चालन गरी संरक्षण गर्न आग्रह गर्नुहुन्छ । निकै प्रचलित खैँजडी भजन पछिल्लो समय लोप हँुदै गएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैँजडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादका रुपमा देख्न पाइन्छ । युवापुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा लोप हुँदै गएको हो । युवाको पुरानो संस्कृतिमा आकर्षण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालिमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उहाँको भनाइ छ ।

माग भई आएमा तालिम सञ्चालनमा सहयोग गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । उहाँले कला संस्कृति जोगाउन नगर तयार रहेको बताउनुभयो ।

यहाँका स्थानीय तहले विभिन्न कार्यक्रममा टोलीलाई बोलाएर चाडवाड मेलामा भजन गाउन लगाउने गरेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पालिकाको सहयोगमा जनै पूर्णिमामा यस टोलीले भजन प्रस्तुत गरेका थिए । रासस