११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृतिको उपहारः बाघझोडा सिमसार



अ+ अ-

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० मा अवस्थित बाघझोडा सिमसार प्राकृतिक सुन्दरताले भरिएको छ । चारकोसे बाक्लो जङ्गलसँगै टाँसिएको यो क्षेत्र प्राकृतिकरूपमा समेत अन्य सिमसारभन्दा कम छैन ।

यहाँ सिजनको समयमा वनभोज खाने, विविध कार्यक्रम गर्ने तथा रमाइलो मानेर घुमफिर गरी फोटो खिच्ने र टिकटक बनाउनेहरूको चहलपहल हिजोआज बढेको पाइन्छ । परापूर्वकालमा यो क्षेत्रमा बाघ पाइने गरेका कारण यसको नाम बाघझोडा सिमसार रहन गएको स्थानीयवासीहरूको मत रहेको छ ।

बार्है महिना पानीको दुःख नहुने तथा कहिल्यै नसुक्ने सिमसार क्षेत्र भएकोले अहिले यहाँ ठूलाठूला पोखरीसमेत निर्माण भएका छन् । यसबाट खेती किसानका लागि सिँचाइमा पनि मद्दत पुगेको छ । यस क्षेत्रलाई अझै राम्रो विकास गरेर निर्माण भएको ताल जस्तै सुन्दर पोखरीमा डुङ्गा सयरको व्यवस्था गर्न सके राम्रो आम्दानी गर्ने सकिने स्थानीयवासीहरू बताउँछन् ।

बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको खोर्साने बजारबाट करिब एक किलोमिटर उत्तर लागेपछि पुगिन्छ । व्यवस्थित सडकमा साना सवारीसाधन प्रशस्तै पाइने भएकाले यहाँ सजिलै पुग्न सकिन्छ । यहाँ बस्नका लागि आरामदायी पुरानो कला र सीपद्वारा निर्माण भएका काठका फलैँचासमेत बनाइएको छ ।

यस स्थानमा किराँत राई यायोक्खा साकेला थानसमेत रहेको छ । यो थान २०५३ सालदेखि स्थापित छ । यहाँ दुर्लभ माछा, कछुवा, चराचुरूङ्गी, अनेक जीवजन्तु एवं विविध भौतिक संरचना रहेका छन् । सिमसारमा अहिले दुरूस्त बाघको प्रतिमा निर्माण भएसँगै यहाँ रमाउनेको लागि आकर्षण थपेको छ ।

बाघझोडामा हात्ती, डाइनोसरको विशाल प्रतिमालगायत विविध खेल समाग्री निर्माण भएका छन् भने अहिले कटेजहरु समेत बनेको देख्न सकिन्छ ।

हरेक वर्ष विभिन्न स्थानबाट मान्छेहरु वैशाख महिनामा मेला भर्न पनि बाघझोडा आउँछन् । बाघझोडा पुगेर जङ्गल, सिमसार र पोखरीको एकै साथ आकर्षक दृश्य देख्न सकिन्छ ।

विविध कारणले पछि परेको यो सिमसारको अहिले भने केही विकास र सुधार भएको अवस्था छ । यहाँ अहिले बाघझोडा पोखरी संरक्षण एवं सम्वद्र्धन समितिले विविध काम गरिरहेको छ । सिमसारलाई अझै व्यवस्थित र विकास गर्न स्थानीय र प्रदेश सरकारले केही राम्रो बजेट छुट्ट्याउनुपर्ने सिमसार संरक्षण समितिका अध्यक्ष तथा पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए ।

बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको पहिचान तथा गहना भएकाले यसको विकासका लागि राम्रो गुरुयोजना बनाएर राज्यको समेत ध्यानाकर्षण गरी सिमसारलगायत अन्य पर्यटकीय क्षेत्रको हित तथा सुधारका पहल भइरहेको नगर प्रमुख केदारप्रसाद गुरागाईंले बताए ।