१३ मंसिर २०८१, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा अन्त:शुल्क स्टिकर छपाइमा  भ्रष्टाचार प्रकरण: पौडेल र श्रेष्ठलाई आठवर्ष कैदको फैसला  लगानी बोर्ड बैठक: बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत आई.एम.ई. लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन रवि लामिछाने सवार विमान पोखराबाट उड्यो सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्यो: कृषिमन्त्री अधिकारी वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस



अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो ।

यहाँ सहरी तथा ग्रामीण क्षेत्रबाट पनि पठनपाठनका लागि विद्यार्थी आउने गरेका छन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने विद्यार्थी आउने गरेका छन् ।

विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । जुन बेला यही ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो ।

क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो ।

कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै शहीद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।

क्याम्पसले नर्सिङ, इन्जिनियरिङको पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ । त्यसका लागि भवन र थप जनशक्ति आवश्यक पर्ने क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । क्याम्पसको शैक्षिक विकासका लागि बीस वर्षे गुरुयोजना बनाइएको छ । क्याम्पसलाई मानक विश्वविद्यालयमा रुपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

क्याम्पसमा हाल ६४ प्राध्यापक र १६ कर्मचारी कार्यरत छन् । विद्यार्थीको शुल्क क्याम्पसको मुख्य आम्दानी रहेको र क्याम्पस आर्थिक रुपमा आत्मनिर्भर बन्न सफल भएको क्याम्पस प्रमुख हड्खलेले बताए । “सरकारी निकायको सहयोग शून्य रहे पनि विश्वविद्यालय अनुदान आयोगबाट भने केही रकम प्राप्त हुने गर्छ”, उनले भने ।

क्याम्पसको कूल आम्दानीको ९० प्रतिशत तलबभत्तामा खर्च हुने गरेको छ । क्याम्पसले आर्थिक वर्ष २०७८÷७९ मा रु सात करोड ९१ लाख १७ हजार आम्दानी गरेको थियो । सरकारी तवरबाट कुनै सहयोग नरहेको क्याम्पसमा प्राध्यापकको तलबमा मात्रै रु ३५ लाख खर्च हुने गरेको छ । चन्दा, दान र विद्यार्थीको शुल्कबाट प्राध्यापकलाई तलब खुवाउँदै आइएको छ । “गरिब तथा ग्रामीण भेगका विद्यार्थी अध्ययन गर्ने भएकाले निकै कम शुल्क मात्रै लिने गरेका छौँ”, हड्खलेले भने ।

क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । हड्खलेले भने, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिको प्रयासले क्याम्पस आज यो अवस्थासम्म आइपुगेको छ ।”

क्याम्पसको छात्रावासमा बस्नका लागि गत वर्ष पाँच सय विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये ३० विद्यार्थी मात्रै छनोट भएका थिए । विसं २०५८ मा सुरु भएर विसं २०७५ मङ्सिरमा छात्रावास निर्माण सम्पन्न भएको थियो ।

क्याम्पसमा विद्यार्थीको आकर्षण बढेसँगै यहाँ प्राविधिक शिक्षा सञ्चालनको तयारीका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । प्राविधिक विषय सञ्चालनका लागि अध्ययन गर्न व्यास नगरपालिकाले नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको छ ।

उक्त समितिमा व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष वा प्रतिनिधि, विज्ञान तथा प्रविधि क्षेत्रबाट एक जना सदस्य छन् ।