१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा (फोटाफिचर/भिडियो)



अ+ अ-

काठमाडौँ । धर्म, संस्कृतिको जगेर्ना हेतुले विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन शुरु गरेका छन् ।

शुक्रावार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन शुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रश्तुती देखाएका थिए ।

विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको छ । आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोगाउन पनि विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुले थप टेवा पुग्ने विद्यालयको विश्वास छ ।

यस वर्ष भदौ २४ गते शुक्रवार इन्द्रजात्रा परेको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाइन्छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी यो जात्रा मनाउने परम्परा छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्रा नजिकिँदै गर्दा विद्यार्थीहरुले इन्द्रजात्रा विशेष कार्यक्रम मनाउन शुरु गरेका छन् ।