१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरमा आधुनिक घर निर्माणमा प्रतिबन्ध



अ+ अ-

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुर क्षेत्रमा आधुनिक घर निर्माणमा प्रतिबन्ध लगाइएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले आधुनिक घर बनाउनेका लागि नक्सापास रोकिदिएको छ ।

गाउँपालिकाले मौलिक घर संरक्षण कार्यलाई प्राथामिकता दिएर योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । नमूना सहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरी पराम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उहाँले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाको वडा नं २ र ४ को बन्दीपुर टाउन क्षेत्रमा आधुनिक किसिमका घर निर्माण नगर्न कडाइ गरिएको छ । आधुनिक घरले मौलिकता गुमाउने हुँदा त्यसमा प्रतिबन्ध लगाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

आरसिसी घर बनाए पनि पराम्परागत शैली झल्किने, सटर राख्न नपाउने र झ्यालढोका काठको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । बन्दीपुरका परम्परागत घरहरूमा काठका बुट्टा भएका झ्याल, ढोका तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घरले बन्दीपुरको मुख्य आकर्षण बढाएको छ । उक्त क्षेत्रमा घर बनाउने व्यक्तिलाई सटर तथा च्यानलगेट र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको छ ।

सालको काठ महँगो पर्ने भएकाले सामुदायिक वनसँग सहकार्य गरी शुलभ दरमा घर निर्माणका लागि काठ उपलब्ध गराउन लागिएको छ । पर्यटकीयस्थल भएकाले मौलिक घरले व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने हुँदा सहुलियत दरमा काठ खरिदका लागि व्यवस्था मिलाइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम पनि उत्तिकै बढ्दै गएको छ । बन्दीपुरबाट धवलागिरिदेखि अन्नपूर्ण माछापुच्छ«े, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ ।

प्रमुख आकर्षण मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, संस्कृति, ढुङ्गा बिछ्याइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, सहिदपार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, प्याराग्लाइडिङ आदि हुन् ।

बन्दीपुरबाट आधाघण्टा ओरालोमा एसियाकै ठूलो मानिने सिद्धगुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन् । एकपटक बन्दीपुर घुम्न आएका पर्यटक पटक–पटक दोहोर्याएर आउने गरेको होटल व्यवसायी बैंश गुरुङले बताउनुभयो ।