• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड



काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ ।

श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । श्राद्ध गर्न आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । बाबुको मुख हेर्ने पर्वका अवसरमा शनिबार पनि गोकर्णेश्वरमा मेला लाग्ने गर्छ ।

पितृका नाममा श्राद्ध गर्ने भक्तजनको भने आजै मन्दिर क्षेत्रमा भीड लागेको हो । शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नु नहुने भन्दै श्रद्धालु भक्तजनको मन्दिर क्षेत्रमा भीड लागेको छ । गोकर्णेश्वरलाई पितृतीर्थका रूपमा लिइन्छ । पिता दिवङ्गत हुनेले भाद्रकृष्ण औँसीका अवसरमा यहाँ आई श्राद्ध गरेमा पितृ तृप्त हुने शास्त्रीय मान्यता छ । पिता जीवित हुनेले भने भाद्रकृष्ण औँसीका दिन मीठा खानेकुरा खान दिई बाबुको मुख हेर्छन् । बाबुको मुख हेर्ने पर्व यस वर्ष शनिबार परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी तीर्थ श्राद्धमा मघा नक्षत्र बार्नु नपर्ने बताउनुहुन्छ । तीर्थ श्राद्धमा समय पनि बार्नु नपर्ने र जुन समयमा पुग्यो त्यही समयमा गर्न सकिने उहाँले जानकारी गराउनुभयो । मघालाई नै लिएर गरिने श्राद्धमात्र छोरा हुनेले गर्नु नहुने शास्त्रीय मान्यता रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । मघा नक्षत्र परेका दिन गरिने तिथि विशेषको श्राद्धलाई मघा श्राद्ध भनिँदैन । सोह्र श्राद्धमा भने मघा नक्षत्र परेका दिन श्राद्ध नगरिने समितिले जनाएको छ ।