१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन पुगेर प्रचण्डले भने – विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु



अ+ अ-

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उहाँले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताउनुभयो । कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उहाँले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका वर्षहरुमा कोरोना महामारी र यसअघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन ।” माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उहाँले त्यसलाई समयसापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

माडीको विकास र समृद्धि बिना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै उहाँले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागू गर्ने सङ्कल्प आफ्नो रहेको बताउनुभयो । बाँदरझुला र माडीका भूमिहीन सुकुम्बासीको जग्गा नाप्ने काम तीन दिनभित्र सुरु हुने उहाँको भनाइ छ । नापजाँच सकिएसँगै जग्गाधनी पुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणको क्षेत्रमा माडीमा ठूलो क्रान्ति भएको जनाउँदै उहाँले माडीको विकास बिना चितवनको समृद्धिको सपना साकार नहुने बताउनुभयो । उहाँले माडी नगरपालिका वडा नं ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गङ्गटे सडक शिलान्यास, टम्टा खोला तटबन्धको शिलान्यास गर्नुभयो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादवले माडीका जनताको समस्या विकाराल रहेको भन्दै समाधान गर्न हरदम प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्ज हाम्रो गहना हो, यसको संरक्षणसँगै वरपरका नागरिकको समस्या हल गर्दै अगाडि बढ्नुको विकल्प छैन ।” मन्त्री यादवले भरतपुर–माडी–ठोरी हुलाकी सडकमा ठाउँठाउँमा समस्या रहेको भन्दै निकास खोज्ने बताउनुभयो ।

भौतिक योजना तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले माडी क्षेत्रको विकासका लागि बजेट प्राथमिकतामा राखिएको बताउनुभयो । माडीका नगर प्रमुख ताराकुमारी काजी महतोले माडीमा बितेका पाँच वर्षमा विकासले तीव्रता पाएको बताउनुभयो ।