१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम



अ+ अ-

कैलाली, १६ भदौः पछिल्लो समय सामाजिक सञ्जाल सूचना, प्रचारप्रसार र नयाँ पर्यटकीय गन्तव्य चिनाउने प्रभावकारी माध्यम बनेको छ । कुनै ठाउँको आकर्षक दृश्यसहितको फोटो वा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुनासाथ केही घण्टामै हजारौँ मानिससम्म पुग्ने गर्छ । यसले ओझेलमा रहेका प्राकृतिक तथा पर्यटकीय गन्तव्यलाई देश–विदेशसम्म चिनाउन, पर्यटक आकर्षित गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

प्राकृतिक सौन्दर्यले भरिएका झरना, ताल, पहाड, नदी तथा वन क्षेत्रका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ती स्थानमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने गरेको छ । तर, सामाजिक सञ्जालमा देखिने आकर्षक दृश्यले गन्तव्यको सुन्दरता मात्रै देखाउँछ, त्यहाँ पुग्ने बाटो, भौगोलिक अवस्था, मौसम, पानीको बहाव, चट्टानको अवस्था तथा सम्भावित दुर्घटनाको जोखिमबारे पूर्ण जानकारी भने दिँदैन ।

कैलालीको चुरे गाउँपालिका–५ सुरुगडास्थित चिप्ले झरना यसको पछिल्लो उदाहरण हो । केही समय यता सामाजिक सञ्जालमा भाइरल बनेको चिप्ले झरनाको चट्टानमाथिबाट झरिरहेको पानी, वरिपरिको हरियाली र चुरेको प्राकृतिक सौन्दर्यले धेरैको ध्यान तानेको छ । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो सार्वजनिक भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या पनि बढेको छ ।

प्रकृतिसँग रमाउन, झरनामा नुहाउन तथा फोटो र भिडियो खिच्न आउनेका लागि चिप्ले झरना आकर्षणको केन्द्र बनेको छ । तर, सामाजिक सञ्जालमा भाइरल बनेको यही सुन्दर गन्तव्यको अर्को पाटो भने जोखिमपूर्ण छ । चिप्लो चट्टान, गहिरो पानी, भिरालो भू–बनोट तथा कतिपय स्थानमा सुरक्षित आवागमनको व्यवस्था नहुँदा झरना क्षेत्रमा पुग्ने पर्यटक दुर्घटनाको जोखिममा छन् । पछिल्लोपटक झरना घुम्न पुगेका डडेल्धुराका खगराज पन्तको मृत्युले चिप्ले झरनाको पर्यटकीय सम्भावनासँगै पर्यटक सुरक्षाको विषयलाई पनि गम्भीर बनाएको छ ।

सुन्दरता हेर्न पुगेका खगराज फर्किएनन्

डडेल्धुराका २१ वर्षीय खगराज पन्त भदौ ६ गते चिप्ले झरना घुम्न पुगे । झरनाको सुन्दरता हेर्न र प्रकृतिसँग रमाउन पुगेका उनी चिप्लिएर खसेपछि बेपत्ता भए । बेपत्ता भएको भोलिपल्ट भदौ ७ गते उनको शव फेला पर्यो ।

झरानाको मनोरम दृश्यको फोटो खिच्न र प्रकृतिसँग रमाउन पुगेका एक युवाको मृत्यु भएपछि चिप्ले झरनामा सुरक्षाको विषय गम्भीर बनेको छ । सामाजिक सञ्जालका कारण पछिल्लो समय झरनामा बाहिरबाट आउने पर्यटकको सङ्ख्या बढिरहेका बेला भएको यो घटनाले गन्तव्यको प्रचारसँगै सुरक्षा व्यवस्थापनको आवश्यकता पनि देखाएको छ ।

पन्तको मृत्यु चिप्ले झरनाको जोखिमबारे सार्वजनिक रूपमा गम्भीर प्रश्न उठाउने पछिल्लो घटना बनेको छ । सामाजिक सञ्जालमा आकर्षक देखिने गन्तव्यमा पुग्दा पर्यटकले त्यहाँको भौगोलिक अवस्था र जोखिमबारे पर्याप्त जानकारी लिनुपर्ने देखिन्छ । उहाँको मृत्यु भएपछि प्रहरीले चिप्ले झरना क्षेत्रमा सर्वसाधारणको आवागमनमा कडाइ गरेको छ ।

झरना क्षेत्रमा थप दुर्घटना हुन नदिन स्थानीय तहसँग समन्वय गरी तत्कालका लागि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार झरना क्षेत्रमा चिप्लो चट्टान, भिरालो भू–बनोट तथा पानीको बहावका कारण दुर्घटनाको जोखिम उच्च रहेकाले सम्भावित मानवीय क्षति रोक्न तत्काल प्रवेशमा रोक लगाइएको हो ।

सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो भाइरल भएपछि पछिल्लो समय यहाँ घुम्न आउनेको सङ्ख्या बढ्दै गएको र कतिपय पर्यटक जोखिमको ख्याल नगरी चट्टान तथा पानीको नजिकसम्म पुग्ने गरेकाले सुरक्षाका दृष्टिले प्रवेशमा कडाइ गर्नुपरेको उहाँले बताउनुभयो । कार्कीका अनुसार स्थानीय तहसँगको समन्वयमा झरना क्षेत्रमा पर्यटकलाई जोखिमबारे जानकारी गराउने तथा सचेतना फैलाउने उद्देश्यले विभिन्न स्थानमा सूचना तथा चेतनामूलक बोर्ड राख्ने तयारी गरेको छ । तत्कालका लागि प्रवेशमा रोक लगाएर दुर्घटना नियन्त्रणको प्रयास गरिए पनि चिप्ले झरनाको बढ्दो पर्यटकीय आकर्षणलाई ध्यानमा राख्दै दीर्घकालीन सुरक्षा व्यवस्थापन आवश्यक देखिएको छ ।

झरना क्षेत्रलाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरक्षित पदमार्ग, रेलिङ तथा तारबार, सिँढी, जोखिमयुक्त स्थानमा चेतावनी बोर्डलगायत आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने देखिन्छ । सामाजिक सञ्जालमार्फत गन्तव्यको प्रचारसँगै पर्यटकको सङ्ख्या बढिरहेका बेला सुरक्षा पूर्वाधार र व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनसके चिप्ले झरनाको पर्यटकीय सम्भावनालाई सुरक्षित र दिगो रूपमा अघि बढाउन सकिने देखिन्छ ।

भाइरल दृश्यले देखाउँदैन जोखिम

सामाजिक सञ्जालमा सार्वजनिक हुने केही सेकेन्डको भिडियो वा तस्बिरले झरनाको पानी, हरियाली र प्राकृतिक सौन्दर्य देखाउँछ । तर, त्यहाँ पुग्ने बाटो, चट्टानको अवस्था, पानीको गहिराइ, बहाव र दुर्घटनाको सम्भावनाबारे त्यसले पूर्ण जानकारी दिँदैन ।

विशेषगरी, वर्षायाममा झरना तथा खोलामा पानीको बहाव बढ्ने भएकाले जोखिम अझ बढ्न सक्छ । पहिलोपटक झरना पुग्ने पर्यटकलाई कुन स्थान सुरक्षित हो, कहाँ चिप्लिने सम्भावना बढी छ, पानी कति गहिरो छ र कुन क्षेत्रमा जान हुँदैन भन्ने जानकारी नहुन सक्छ । राम्रो तस्बिर र भिडियो बनाउने क्रममा पर्यटकहरू जोखिमयुक्त स्थानसम्म पुग्ने गरेको देखिन्छ ।

चिप्ले झरनामा पनि सामाजिक सञ्जालमा देखिएको आकर्षक दृश्यका कारण पर्यटकको सङ्ख्या बढिरहेको छ । कतिपय पर्यटक फोटो तथा भिडियो बनाउने क्रममा चिप्लो चट्टानको किनारमा पुग्ने, पानीमा पस्ने वा जोखिमयुक्त स्थानमा उभिने गरेको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटी बताउनुहुन्छ । “चिप्ले झरना जति हेर्नलाई सुन्दर छ, त्यति नै जोखिम पनि छ । त्यहाँको सतह निकै चिप्लो छ भने चट्टान पनि छन् त्यसैले त्यहाँ जोखिम छ”, अध्यक्ष बोगटीले भन्नुभयो । उहाँका अनुसार झरना क्षेत्रमा पानी परेको समयमा चट्टानमा लेउ लाग्ने र सतह थप चिप्लो हुने भएकाले सामान्य अवस्थामा भन्दा वर्षायाममा जोखिम बढी हुन्छ । पर्यटकको सङ्ख्या बढ्दै गए पनि सुरक्षाका लागि आवश्यक संरचना निर्माण हुन नसक्दा व्यवस्थापन चुनौतीपूर्ण बनेको उहाँ बताउनुहुन्छ ।

चुरे गाउँपालिका–५ का पूर्वअध्यक्ष नरबहादुर तामाङ पनि सामाजिक सञ्जालमा देखिएको दृश्यका आधारमा मात्र कुनै गन्तव्यको वास्तविक अवस्था अनुमान गर्न नहुने बताउनुहुन्छ । सामाजिक सञ्जालले पर्यटकीय सम्भावना भएको ठाउँलाई चिनाउन महत्वपूर्ण भूमिका खेले पनि पर्यटकको सुरक्षाका लागि पूर्वसूचना, सचेतना र आवश्यक संरचना निर्माणमा पनि ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

‘भूत खोला’देखि भाइरल पर्यटकीय गन्तव्यसम्म

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीका अनुसार अहिले ‘चिप्ले झरना’ भनेर चिनिने यो स्थान पहिले ‘भूत खोला’ नामले परिचित थियो । धेरै पहिले त्यहाँ मानिसले ज्यान गुमाएका कारण स्थानीयले ‘भूत खोला’ भन्ने गरेको उहाँ बताउनुहुन्छ ।

स्थानीयस्तरमा लामो समयदेखि परिचित भए पनि सामाजिक सञ्जालमा भाइरल हुनुअघि यहाँ बाहिरी क्षेत्रका मानिसको आवागमन न्यून थियो । स्थानीयवासीले त्यहाँको पानी नहर तथा घट्ट सञ्चालनमा समेत प्रयोग गर्ने गरेका थिए । “पहिले यो ठाउँलाई ‘भूत खोला’ भनेर चिनिन्थ्यो । स्थानीयलाई पहिलेदेखि नै यो ठाउँबारे जानकारी थियो । त्यहाँको पानी नहर र घट्टका रूपमा प्रयोग गरिन्थ्यो”, अध्यक्ष बोगटीले भन्नुभयो । तर, सामाजिक सञ्जालमा झरनाका तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि यसको चर्चा गाउँबाट बाहिरसम्म फैलिएको छ । अहिले कैलालीसँगै डडेल्धुरा, कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट समेत पर्यटक झरना हेर्न आउने गरेका छन् ।

चुरे गाउँपालिका–५ का अध्यक्ष वीरबहादुर धामीका अनुसार पछिल्लो केहि समय अघि देखि मात्रै सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि झरना क्षेत्रमा आउनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । बिदाका दिन करिब चार–पाँच सयसम्म मानिस झरना क्षेत्रमा पुग्ने गरेको उहाँ बताउनुहुन्छ । यसलाइ व्यवस्थित गर्नसके पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँको भनाइ छ ।

खानीडाँडा बजारबाट करिब तीन किलोमिटरको दूरीमा रहेको चिप्ले झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना भए पनि त्यसका लागि आवश्यक पूर्वाधार भने पर्याप्त छैन । सुरक्षित पदमार्ग, रेलिङ, तारबार, सिँढी, विश्रामस्थल तथा जोखिमयुक्त स्थानमा सूचना बोर्डजस्ता संरचना आवश्यक देखिन्छन् ।
गाउँपालिकाका अध्यक्ष बोगटीका अनुसार गाउँपालिकाले झरना क्षेत्रको विकासका लागि डिपिआर तयार गरी प्रदेश सरकारलाई बुझाइसकेको छ । “पछिल्लो समय निकै भाइरल भएको चिप्ले झरनालाई व्यवस्थित गर्न डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाएका छौँ । पालिकाको बजेटले मात्रै भ्याउँदैन । तारबार गर्ने, आकाशे पुल बनाउने, सिँढी, नुहाउने स्थान बनाउनेलगायतका योजना छन्”, उहाँले भन्नुभयो ।

झरना क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै सुरक्षा संरचना निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । पानी परेको समयमा चट्टानमा लेउ लाग्ने र सतह चिप्लो हुने भएकाले पर्यटकलाई सुरक्षित रूपमा आवतजावत गर्न सक्ने संरचना आवश्यक रहेको उहाँ बताउनुहुन्छ । खगराज पन्तको सम्झनामा शालिक निर्माण गरी सो क्षेत्रलाई व्यवस्थित बनाउने योजना रहेको पनि अध्यक्ष बोगटीले बताउनुभयो । पर्यटकीय गन्तव्यको विकाससँगै सुरक्षा व्यवस्थापनलाई अघि बढाउने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो । इन्द्राकुमारी केसी/रासस




भर्खरै