• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत

लुम्बिनीमा चुनावी गतिविधि सुरु, दलहरु भेला र प्रशिक्षणमा व्यस्त



file

रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसवादी दलहरु अहिले आन्तरिक तयारीमा लागेका हुन् । राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका साथै साना एवं स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका नेताले पनि निर्वाचन क्षेत्रमा चुनावी गतिविधि सुरु गरेका छन् । चोक–चोकमा निर्वाचनसम्बन्धी चर्चा सुरु भएको छ ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरु प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा छन् भने गठबन्धन दलविरुद्ध एमाले एक्लै चुनावी मैदानमा जाने तयारीमा छ । लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाएर जाने तयारी भएको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन बताउनुहुन्छ ।

आगामी निर्वाचनमा गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार बनाएर निर्वाचनमा जाने उहाँको भनाइ छ । “हामीले बैठकबाटै आसन्न चुनावमा गठबन्धन गरेर जाने र साझा उम्मेदवार बनाउने निर्णय गरेका छौँ । त्यसका लागि आ–आफ्नो पार्टीका तर्फबाट विस्तृत प्रतिवेदन तयार गरी छलफल गर्ने भनेका छौँ”, उहाँले भन्नुभयो ।

निर्वाचनको तयारीका लागि स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्माण गरिएका प्रदेश र जिल्ला तहका संयुक्त संयन्त्र पुनः क्रियाशील बनाएर बैठक भेला आयोजना गर्ने गठबन्धन दलको तयारी छ । निर्वाचनको मिति तय भएसँगै नेकपा (एमाले) पनि तयारीमा जुटेको छ । एमाले पराजयबाट पाठ सिक्दै आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी बनाउने रणनीति बनाउँदै छ ।

प्रशिक्षणका साथै भेला र बैठक आयोजना गरिएको एमालेका लुम्बिनी प्रदेश समिति उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ बताउनुहुन्छ । एमालेले पहिलो चरणमा प्रदेश र जिल्लास्तरका प्रशिक्षण कार्यक्रम गरेको छ । निर्वाचनमा पार्टीका एजेन्डा जनतामाझ कसरी लैजाने भन्ने विषयमा नेता तथा सङ्गठनका प्रमुखलाई प्रशिक्षण दिइएको श्रेष्ठले बताउनुभयो । एमालले जनताका गुनासा र सुझाव लिने काम गरिरहेको छ ।

गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्धारित २६ निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र छन् ।