११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

प्रदीप गिरी: ‘अनटेस्टेड, बट रेफ्री’

प्रदीप गिरी: ‘अनटेस्टेड, बट रेफ्री’
अ अ+ अ-

प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिंदैन ।

त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास गर्नेको सङ्ख्या पनि ठूलै छ । नेपालको संसदमा समाजवादी कोणबाट राज्यको नीति, कार्यक्रम र बजेटको समीक्षा गर्ने अनि बिना आग्रह त्यसलाई ठीक बेठीक भन्न सक्ने आत्मविश्वासी स्वर पनि अब कमजोर हुने निश्चित रहेको महसुश गरिएको छ ।

निधन शास्वत नियम हो । ‘मृत्यु नै जीवनको अन्तिम पाना हो’–प्रदीप गिरीले एकपटक कतै भनेको स्मरण छ । उहाँको दर्शनलाई मान्ने हो भने मृत्यु नै जीवनको पूर्णता हो । तसर्थ, उहाँको जीवन अब ‘पूर्ण’ भएको छ । ‘पूर्णता’ पाएको उहाँको जीवनको समीक्षा गर्दा उहाँका प्रतिस्पर्धीहरुले पनि उहाँको सादगी र दार्शनिक पक्षको चर्चा र प्रशंसा गरिरहेका छन् । यसले के देखाउँछ भने उहाँले सफलतापूर्वक ‘इहलीला’ समाप्त गरेका छन् ।

प्रदीप गिरीले लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संस्लेषण गर्नुभयो । यसैमा उहाँ रमाउनुभयो । एकपटक विपी कोइरालालाई उहाँले आग्रह गर्नुभएको थियो, ‘सान्दाजु अब मेरो सक्रियता समाजवादको अध्ययनमा केन्द्रीत गर्छु । समाजवादीहरुसँग मेरो संसर्ग बढाइदिनु प¥यो ।’ भारतीय समाजवादी नेताहरुलाई विपी कोइरालाले पत्र नै लेखेर गिरीलाई भेट्न र सम्बन्ध बनाउन आग्रह गर्नुभएको थियो । समाजवादप्रतिको उहाँको रुचीलाई यो कसीमा राखेर पनि हेर्न सकिन्छ ।

एकपटक पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले विपीका बारेमा भन्नुभएको थियो, –‘युगभन्दा चाँडो जन्मिएका कारण विपीलाई नेपाली समाजले चिन्न सकेन । उहाँ नेपाली समाजको चेतना स्तरभन्दा धेरै माथि हुनुहुन्थ्यो ।’ विपीको आत्मवृतान्तमा पनि कहीँ कतै उहाँले शास्त्रीय छलफल गर्ने समूह नपाएको सन्देश दिनुभएको छ ।

तर, प्रदीप गिरी विपीका अगाडि देखा पर्ने यस्ता युवा हुनुहुन्थ्यो, जसले विपीसँग समाजवादको शास्त्रीय छलफल गर्ने हैसियत राख्दथ्यो र त्यो छलफलप्रति विपीको रुची बढ्थ्यो । विपीलाई प्रश्न सोध्ने उहाँको हैसियत देख्दा उहाँका कतिपय सहकर्मीहरुले उहाँलाई बक्रदृष्टिले हेरेका दृष्टान्तहरु पनि छन् । उहाँको अध्ययनको ओजले त्यस्ता बक्रदृष्टिहरु धेरै तल नै बिलुप्त हुन पुगे ।

दर्शनप्रतिको अगाध आस्था, त्यसको व्याख्याता र सक्रिय राजनीति । यो दुवैलाई समायोजन गर्दै हिंड्न सक्ने पात्रहरु कमै पाउँछ समाजले । गिरीले त्यो हैसियत बनाउनुभयो भन्न सकिन्छ । उहाँ सक्रिय राजनीतिबाट विश्राम नलिएरै दर्शनको महत्वको प्रचार गर्दै हिडिरहनुभयो । कांग्रेसको नेता, सांसद तर कम्युनिष्टहरुलाई माक्र्सवाद र साम्यवाद पढाउँदै हिड्ने पात्र एउटै ! राजनीतिक रुपमा विभक्त नेपाली समाजमा यो कुरा असम्भव लाग्छ ।

तर प्रदीप गिरी त्यस्तो ‘असम्भव पात्र’ बनेर पनि आफ्नो थप परिचय स्थापित गर्न सफल हुनुभयो । समाज विकासको क्रममा माक्र्सवादलाई स्वभाविक दर्शनका रुपमा उहाँले व्याख्या गर्दै हिड्नुभयो । उहाँले भन्नुभयो,–‘माक्र्सको दर्शनप्रतिका मेरा असहमतिहरु छन्, तर त्यो एउटा स्वभाविक दर्शन हो ।’ उहाँको अध्ययन, आत्मविश्वास र स्पष्ट दृष्टिकोणपछिको अभिव्यक्ति थियो यो ।

विपी कोइरालाबाट निकै प्रभावित, दीक्षित उहाँको सबैभन्दा प्रिय कुरा थियो–स्वतन्त्रता । स्वतन्त्रताको अभावमा दर्शन पनि निर्माण हुन सक्दैन र स्वतन्त्रतालाई अस्वीकृत गर्ने दर्शन समाजको लागि उपयोगी पनि हुनै सक्दैन । तुलसी गिरीको परिवारका प्रदीपलाई एकपटक आफ्ना परिवार र शुभेच्छुकहरुबाट पञ्चायतमा प्रवेश गर्न निक्कै दबाब परेको थियो ।

उहाँले पञ्चायतमा दर्शन देख्नु भएन र दबाबलाई अस्वीकृत गरी दिनुभयो । पारिवारिक दबाब र स्वतन्त्रताको लडाई रोज्दा उहाँ स्वतन्त्रताको लडाईको कित्तामा उभिनुभयो । माक्र्सवादको प्रशिक्षक भएर हिड्दै गरेका उहाँ कहिल्यै कम्युनिष्ट हुनु भएन । यी दुई सन्दर्भले उहाँ स्वतन्त्रताको बलिया पक्षधर भएको प्रमाणित हुन्छ ।

‘गाउँले सभ्यताको विकास गर्ने बजेट भएन’ भनेर तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको बजेटमाथि संसदमा उहाँले गरेको टिप्पणी निकै चर्चित रह्यो । विपीले परिकल्पना गरेको नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उहाँ अब्बल हुनुहुन्थ्यो । प्रष्ट वक्ता र सरल शब्दचयन उहाँका विशेषता थिए । यी विषेशताको उचाईबाट उहाँले सबैलाई ललकार्ने हैसियत राख्नुहुन्थ्यो ।

एउटा सन्दर्भमा कांग्रेसका केही नेताहरुले आफ्नो कार्यकालको उपलब्धिहरु सुनाउने क्रममा भन्दै थिए कि हाम्रो पालामा यति विद्यालय थपिए, यति स्वास्थ्यचौकी थपिए आदि आदि । कार्यक्रमको अन्त्यतिर बोल्दै गिरीले भन्नुभयो, ‘तपाईहरुले थपेको सरकारी स्कूलमा कति विद्यार्थी पढ्छन् आज रु तपाईहरुले थपेका स्वास्थ्य चौकीमा कति बिरामी आउँछन् आज रु तपाईहरुले त्यो हेर्नुभएको छ रु भौतिक संरचनाको निर्माण मात्र समाजवादको पूर्वाधार हैन ।’ उदारवादी अर्थतन्त्रको अभ्यास गर्दै गर्दा राज्य आफ्नो दायित्वबाट बिमुख हुन पाउँदैन भन्ने सन्दर्भमा उहाँको यो भनाइ आएको थियो ।

तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उहाँको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो । दर्शनको व्याख्या गर्नेहरु प्रायः एकाङ्की, सामूहिक गफगाफमा रुचि नदिने स्वभावका हुन्छन् । एकोहोरो बोलिरहन रुचाउँछन् । तर गिरी फरक हुनुहुन्थ्यो । गाउँमा गएर सम्बाद गर्ने, सुन्ने उनको रुचि नै थियो । युवाहरुलाई अभिप्रेरित गर्ने उनीहरुसँगको संवादमा जोड दिने उहाँको क्षमता र स्वभाव थियो ।

गिरी पटकपटक सांसद हुनुभयो तर मन्त्री बन्न चाहनु भएन । मन्त्री किन नभएको भन्ने प्रश्नको मनमौजी जवाफ दिनुहुन्थ्यो, ‘कसैले बनाए पो हुने’ भन्ने जस्तो जवाफ आउँथ्यो । उहाँ आफैँ परीक्षणमा जाने भन्दा परीक्षणमा गएकाहरुको मूल्याङ्कन र खबरदारी गर्ने पात्रका रुपमा आफूलाई उभ्याउन इच्छुक देखिनुभयो । अर्थात उहाँ ‘अनटेस्टेड वट रेफ्री’को भूमिकामा नेपाली राजनीतिमा रहनुभयो । उहाँ सांसद रहँदा अरु बेला नबोले पनि सरकारको नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य बोल्नुहुन्थ्यो ।

सरकार उहाँको पार्टीको होस् वा नहोस्, उहाँको समाजवादको आलोकमा त्यसको समीक्षा गनुहुन्थ्र्यो । उहाँ संसदमा बोल्दै गर्दा प्रजातान्त्रिक समाजवादको शिविरजस्तै बन्थ्यो संसद । कार्यकारीहरु त्रसित हुन्थे । संसदले अब त्यो विशिष्ट क्षण प्राप्त गर्ने छैन । नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डो-याउनका लागि गरिने खबरदारीको उचो स्वर सुन्न पाउने छैनन् । यो रिक्तता हाम्रो लागि अब बाध्यता हो । अलबिदा प्रदीप दाइ ।
लेखक नेपाल पत्रकार महासङ्घका अध्यक्ष हुनुहुन्छ