• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा गिरीप्रति श्रद्धाञ्जलि व्यक्त



काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डे केहीबेर अगाडि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता गिरीको अस्पतालमै शनिबार राति ९:३० बजे निधन भएको थियो । गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता डा शेखर कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदयशम्शेर राणालगायत अस्पताल पुग्नु भई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

स्व गिरीको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको र बिहान ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।