• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

‘ओलीले पठाएको नागरिकता अध्यादेश तत्कालै प्रमाणीकरण गर्ने राष्ट्रपतिबाट संसदले पास गरेको विधेयकमा किन ढिलाइ?’



काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौला (गौतम)ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक सम्बन्धि कार्यमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएकी छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रपतिबाट भइरहेको ढिलाइ द्वैध चरित्र भएको भन्दै प्रश्न उठाएकी हुन् ।

सांसद लीलादेवी सिटौलाले भनिन्, ‘नागरिकता विधेयक दुईतिहाइको सरकारका बेला २२ महिना समितिमा छलफल भयो । तर, संसदमा आएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब केपी शर्मा ओलीले अध्यादेशको रुपमा ल्याउनुभयो । राष्ट्रपतिले तत्कालै प्रमाणीकरण गर्नु भो । आज त्यही सरकारले अध्यादेशमा ल्याएको विधेयक संसदबाट पारित गरेर लैजाँदा राष्ट्रपतिले किन ढिलाइ गर्नुभयो। राष्ट्रपतिको भूमिका के हो ? राष्ट्रपति राष्ट्रको हुन्छ कि व्यक्ति र पार्टीको ?,’ । धेरै नागरिक नागरिकताविहीन रहेको पनि सिटौलाले बताइन् । उनले भनिन्, ‘तीनवर्षसम्म दुईतिहाइ सरकार के हेरेर बसेको ? किन त्यतिबेला ध्यानाकर्षण हुनसकेन ?’

पूर्वप्रधानमन्त्री ओलीको भूमिका पनि द्वैध चरित्रको रहेको सिटौलाको टिप्पणी छ । ‘हिजो एमसीसी पास गर्नुपर्छ भनेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भिडियो यत्रतत्र छन्’, उनले भनिन्, ‘तर विडम्बना ती नै दलका नेता र सांसद आज एमसीसीमा हाम्रो संलग्नता थिएन भनेर चुनावी भाषण गरिरहेका छन् । यो के दुर्भाग्य हो नेपालीको, कति भ्रम छर्ने हो, कति झूट बोल्ने ?’