काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अमेरिकी सभामुख नेन्सी पेलोसीको हालैको ताईवान भ्रमण र त्यस पछिका घटनाक्रमहरुलाई नजिकबाट नियालीरहेका बताउनु भयो । उहाँले न्यूजपोलारसँग भन्नुभयो “हामी एक चीन नीतिको पक्षमा र ताईवान चीनको अभिन्न भूभाग हो भन्ने पक्षमा छौं । विश्व शान्तिमा प्रतिकूल प्रभाव पार्ने कार्य कतैबाट र कसैबाट पनि हुनु हुँदैन । अमेरिकाले ताईवान चीनको भूभाग हो भन्ने माने पछि दुई देश बीच कुटनीतिक सम्बन्ध स्थापित भएको सर्वविदितै छ । अब पनि ताईवान चीनको अभिन्न भूभाग हो भन्ने मान्यताका आधारमा उत्पन्न तनाव अन्त्य गर्न र समस्या समाधान गर्न सम्बद्ध सबै सहमत हुनु पर्दछ । क्षेत्रीय शान्ति र प्रकारान्तरले विश्वशान्तिलाई नै प्रभाव पार्ने यस घटनाका सम्बन्धमा नेपाल सरकारले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु पर्दछ ।”
उपाध्यक्ष पौडेलले अर्को एक प्रसंगमा एमाले निर्वाचनका लागि तयारी अवस्थामा रहेको बताउनुभएको छ । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि उपाध्यक्ष पोडेलले भन्नुभयो, “चुनावको मिति घोषणा अपेक्षित र स्वाभाविक हो, एमाले निर्वाचनका लागि पूर्णरुपमा तयार छ ।”
“एमालेको तयारी सबैभन्दा अगाडि छ, हामीले पार्टीलाई निर्वाचनमा होमिसकेका छौँ”, उपाध्यक्ष पौडेलले भन्नुभयो । स्थानीय तहको निर्वाचन लगत्तै त्यसको समीक्षा र संघीय तथा प्रदेशको निर्वाचनका लागि आफूहरु तयार भइसकेको उहाँले जानकारी गराउनुभयो । यसका लागि योजनाका साथ पार्टी पंक्तिलाई परिचालन गरिसकिएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “निर्धारित समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरुपमा निर्वाचन सम्पन्न गर्न राज्यले विशेष ध्यान दिनुपर्छ ।” उपाध्यक्ष पौडेलले राज्यको शक्ति, स्रोत र साधनको दुरुपयोग हुन सक्नेतर्फ सचेत गराउँदै धाँधली वा अनियमितता जस्ता कार्यले लोकतन्त्रलाई नै कमजोर पार्ने हुँदा त्यस्ता कार्य कतैबाट पनि हुन नहुने बताउनुभयो ।
उपाध्यक्ष पौडेलले अर्को एक प्रसंगमा कोशीलगायत नदीहरुमा आएको बाढी तथा मुलुकका विभिन्न स्थानमा गएको पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरुलाई राहत र पुनःस्थापनामा सरकारले गम्भीररुपमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कयौँ व्यक्ति घरबारविहीन भएका छन्, उनीहरुको गाँसबासको बारेमा सरकार गम्भीर हुनुपर्छ, नागरिकलाई दुःखका बेला राज्य छ भन्ने अनुभूति हुनपर्छ तर सरकारको शैली त्यस्तो देखिँदैन ।”