काठमाडौं । नेपाल सेनाका हुद्दा भरत गुरुङको हत्या आरोपमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला सुनाइएको छ। ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको हो।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान ढकाललाई जन्मकैद फैसला भएको हो।
बुधबार सैनिक अदालतले ढकालविरूद्ध फैसला गरेको थियो। हुद्दा गुरुङको साउन ७ गते भरतपुर महानगरपालिका(१७ शारदानगरस्थित सिमल डाँडामा हत्या भएको थियो।
अनुसन्धानका क्रममा गुरुङलाई ढकालले एसएमजी हतियारबाट गोली प्रहार गरी हत्या गरेको खुलेको थियो।
सेनाले सो घटनामा भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो।
ढकाललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने फैसला पनि भएको पौडेलले बताए।