काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथै मनसुनी न्यून चापीय रेखा पनि तराई भूभाग भन्दा केही तल रहेको जनाएको छ।
महाशाखाले शुक्रबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ।
यसैगरी दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।