• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

परराष्ट्रमन्त्री डा. खड्काले आज संसदमा एसपीपीबारे जवाफ दिने



काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज प्रतिनिधिसभाको बैठकमा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे जवाफ दिने हुनुभएको छ । एसपीपीबारे संसद् र सार्वजनिकरुपमा चर्को आवाज उठ्दै आएको छ ।

सरकारले गत असार ६ गते एसपीपीलाई अगाडि नबढाउने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि एसपीपीमा सहभागी नहुने भनी सरकारले अमेरिकालाई पत्र नपठाएको भन्दै संसद् र सार्वजनिकरुपमा प्रश्न उठ्दै आएको छ ।

यसै विषयलाई लिएर प्रतिनिधिसभाको यही साउन ४ गतेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद् भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय सरकारले अमेरिकालाई जानकारी नगराएको भन्दै रोष्ट्रममा उभिएर अमेरिकालाई एसपीपीमा सहभागी नहुने बेहोराको पत्र पठाउन निरन्तर माग गर्नुभएको थियो । साथै उहाँले यस सम्बन्धमा सरकारलाई रुलिङ गर्न पनि आग्रह गर्नुभएको थियो । सांसद रावलले रोष्ट्रम नै कब्जा गरेपछि संसद् बैठकसमेत स्थगित हुन पुगेको थियो ।

एसपीपीबारे संसद्मा निरन्तर प्रश्न उठ्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन ५ गते एसपीपीबारे भएका गतिविधिबारे जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको थियो । सोही रुलिङको पालना गर्दै आज परराष्ट्रमन्त्री डा खड्काले एसपीपीबारे जवाफ दिन लाग्नुभएको हो ।