• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले

न्यायालयको सुधारमा ध्यान दिन सांसदहरुको जोड



काठमाडौँ । सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसदहरुले न्यायालयको सुधारसँगै वर्षाका कारणले हुने डुबान, सडक दुर्घटना लगायतका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद प्रकाश रसाइली स्नेहीले पहुँचयोग्य न्याय नभएको बताउनुभयो । समग्र न्यायालयको सुधारका लागि उच्चस्तरीय न्याय सुधार र निर्देशन आयोग गठन हुनुपर्नेमा उहाँको जोड छ ।

सांसद पार्वतीकुमारी विसुङ्खेले अदालतको पुनः संरचना नहुँदा जनताको पहुँच न्यायमा नपुगेको र जनमुखी न्याय नभएको बताउनुभयो । न्यायमूर्तिलाई महाअभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने उहाँको भनाइ छ ।

सांसद डा डिला सङ्ग्रौला पन्तले वर्षा सुरु भइसकेकाले अहिलेदेखि दसैँतिहारमा सडक दुर्घटना बढी हुने हुँदा यसको न्यूनीकरणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद दिलकुमारीले बर्सेनि सर्पको टोकाइबाट धेरैको मृत्यु हुने भए पनि उपचारका लागि राम्रो व्यवस्था नभएको बताउनुभयो ।

सांसद टेकबहादुर बस्नेतले मदन भण्डारी लोकमार्गका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । सांसद दिव्यमणि राजभण्डारीले महङ्गी बढिरहँदा सचेत जनताले खर्च कटौती गर्न सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दीपकप्रकाश भट्टले सुदूरपश्चिमको पहाडी जिल्लाबाट उपचारका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता भएकाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठाको आवश्यकता रहेको बताउनुभयो । सांसद नबिना लामाले गङ्गालाल अस्पताल लगायतका अस्पतालमा अहिले उपकरण अभावले मुटुको शल्यक्रिया नभएकाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवप्रसाद तिमल्सिनाले तराईमा ४०÷४५ डिग्रीको तापक्रम हुँदा दिनभर काम गरेर खानुपर्नेले बाहिर निस्कन नसकेकाले जनतालाई राहतको व्यवस्था गर्नुपर्ने बताउँनुभयो । सांसद नारायणप्रसाद खतिवडाले टोखा–छहरे सुरुङमार्ग बजेटबाट हराएको र धेरै राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ भइरहेको औँल्याउनुभयो ।

सांसद पवित्रा निरौला खरेलले दुर्गम क्षेत्रमा स्वास्थ्य संस्थामा सुविधा नहुँदा नागरिक सहरी क्षेत्रमा जानुपर्ने तर सहरी क्षेत्रका अस्पतालमा सरकारीमा पहुँच र निजीमा ठूलो रकम चाहिएको बताउनुभयो । सांसद पार्वता डिसी चौधरीले दाङमा ३९ मिल उद्योग मिल खोलेका स्थानीयवासीले १९ वर्ष पनि मिल खाली गर्न भनेकाले सो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद पूर्णकुमारी सुवेदीले वर्षायाम सुरु भए पनि नेपालगञ्जमा जलमग्न भइरहेको र विगतमा पनि धेरै धनजनको क्षति भएकाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रभु साहले काठमाडौँमा पानी परे पनि तराईमा किसानले खेती गर्न नसकेको बताउनुभयो । किसान आकासे खेतीमा बाँच्नु परेको र उनीहरुले सिँचाइ, बीउ, मल नपाएको उहाँले बताउनुभयो ।

सांसद डा विजय सुब्बाले तेह्रथुम र पाँचथर जोड्ने तमोरको पुल विसं २०६९ मा सुरु भएकामा अझै सम्पन्न नभएको र अहिले आएर निर्माण रोकिएको बताउनुभयो । पुल निर्माण पूरा गर्नुपर्ने र ढिलाइ गरेमा कारबाही हुनुपर्नेमा उहाँको जोड छ ।