• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी ★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी ★   बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार ★   बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर ★   विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो ★   बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा

भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ: प्रधानमन्त्री देउवा



काभ्रेपलाञ्चोक।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

“देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ”, उहाँले भन्नुभयो । प्रम देउवाले जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको बताउनुभयो । उहाँले थप्नुभयो, “त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु ।” 

मुलुकमा तीन तहको सङ्घीय शासनप्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उहाँको धारणा थियो । प्रम देउवाले नागरिकको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले यस सरकारसँग अपेक्षा हुनु स्वाधाविक रहेको उल्लेख गर्नुभयो । 

“सीमित स्रोत–साधानका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावनाबमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो–छरितो ढङ्गले बिना कुनै ‘मरमोलाहिजा’ सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य रहेको बताउनभयो । 

यसअघि प्रम देउवाले तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित एकै स्थानमा निर्मित स्वयम्भु, बौद्ध, नमोबुद्ध स्तुपाको उद्घाटनसमेत गर्नुभएको थियो । नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज सूर्यमान दोङ, नेपाली कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामाले गाउँपालिकाले जनहितलाई केन्द्रविन्दुमा राखेर काम गरेको बताउनुभएको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष सलामसिंह तामाङले रु चार करोड ६४ लाखमा गाउँपालिकाको तीनतले प्रशासकीय भवन निर्माण सम्पन्न गरेको बताउनुभयो । रासस