१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न मुख्यमन्त्री पाण्डेको आग्रह



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गर्नु भएको छ ।

सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तरगतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले गरिव तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैसँग जोडेर बजेट ल्याउन पनि स्थानीय तहको ध्यानाकर्षण गराउनु भयो । एकल महिला, दलित, लोपोन्मुख, सिमान्तकृत समूदाय, अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको उपयोग गरिने कुरालाई स्थानीय सरकारले पनि विशेष रुपले अघि बढाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न स्थानीय सरकारलाई ध्यान दिन आग्रह गर्दछु । प्रदेश सरकारले एकल महिला, दलित, लोपोन्मुख तथा सीमान्तकृत समुदाय र अपांगता भएका महिलाको सामाजिक, आर्थिक सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको अधिकतम उपयोग गरिनेछ भनेर जोड दिएको छौं । ती समूदायलाई माथि उठाउने काममा तपाईहरु पनि लाग्नुुस । स्थानीय सरकारले असार १० गते बजेट ल्याउँदै छन । ती बजेटमा प्रदेश सरकारले ल्याएका यस्ता नीतिहरुलाई जोडनुहोस । प्रदेश सरकार स्थानीय सरकारसँगै मिलेर अघि बढने भएकाले सँगसँगै अघि बढने खालका बजेट ल्याउन आवश्यक छ ।’

मुख्यमन्त्री पाण्डेले व्यापक बहस गरेर कानुन निर्माण गर्ने र त्यसको पूर्ण कार्यान्वयनमा जोड दिन पनि स्थानीय जनप्रतिनिधिहरु सफल हुने विश्वास व्यक्त गर्नु भयो । स्थानीय तहलाई नै हेरेर प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने भएकाले त्यसै अनुसार स्थानीय तहले पनि बजेट ल्याउँदा उपयुक्त हुने उहाँले बताउनु भयो ।

दुई दिनसम्म चल्ने अभिमुखिकरण कार्यक्रममा स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धमा विस्तृत छलफल हुनेछ ।