१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म

जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म
अ अ+ अ-

मनाङ । गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन् । वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना माटोका घर मासिँदै गएका छन् । हिमाली क्षेत्रमा माटाको घरभन्दा सुरक्षित हुने भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ । 

मनाङमा सदियौँ पुराना माटाले निर्मित परम्परागत घर छन् । सडक सञ्जाल जोडिएसँगै ऐतिहासिक घर क्रमशः मासिन थालेका हुन् । सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर लोप हुने क्रममा छन् । माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ । हिउँ पर्दा घरमाथि  थुप्रिएर बस्थ्यो तर पनि सुरक्षित होइन्थ्यो । हिमपातसंँगै वर्षा भएपछि माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि पुराना घर मासिन थालेको स्थानीयवासी बताउँछन् । 

एक दशकअघिसम्म हिउँ मात्र पर्ने क्षेत्र माथिल्लो मनाङ, नार्पाभूमि चामेलगायत स्थानमा जलवायु परिवर्तनको असरसँगै वर्षा हुन थालेपछि परम्परागत तवरले निर्माण भएका माटाका संरचना प्रत्येक वर्ष जोखिममा पर्दै गएका छन् । माटाको सहरका रुपमा छुट्टै मौलिकता तथा पहिचान बनेका बस्ती वर्षा हुने क्रमसँगै पग्लन र भत्कन थालेपछि सिमेन्टको प्रयोग र जस्ताले छाउन बाध्य हुनुपरेको चिन्ता स्थानीयवासीमा छ । 

मनाङमा कम पानी पर्ने भएका कारण यहाँका अधिकांश घर माटाले छाइएका छन् । छतमा जमेको हिउँ फालिदिएपछि अन्य कुनै समस्या बेहोर्नुपर्ने अवस्था थिएन । प्रायः चिसो भइरहने भएका कारण माटाले बनाइएका यहाँका घर वातावरणानुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि भित्र न्यानो भइरहन्छ । पछिल्ला वर्ष हिउँ पर्न छाडेर पानी पर्ने क्रम बढिरहेका कारण बस्तीहरू उच्च जोखिममा छन् । 

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले हिमाली जिल्लामा पानी पर्ने क्रम बढिरहँदा माटाले बनेका संरचना जोगाउने चुनौती थपिएको बताउनुभयो । उहाँका अनुसार हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढेसँगै यहाँ माटाले बनेका घर तथा बस्ती एवं दुई चार सय वर्ष पुराना गुम्बा, मठमन्दिरलगायत प्राचीन सम्पदा जोगाउन यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । यसरी माटाले बनेका संरचना सङ्कटग्रस्त बनिरहेको स्थानीयवासीको भनाइ छ ।  

बाढीपहिराबाट क्षति 

यहाँ पछिल्लो समय आएको बाढीपहिराका कारण गाउँहरू नै डुबानमा परी बगरमा परिणत भएका छन् । नासों गाउँपालिका–१ ताल गाउँका भौतिक संरचना नष्ट भई बगरमा परिणत भएको छ। बाढीपहिराका कारण यहाँका ५९ घरपरिवार विस्थापित हुन बाध्य छन् । ताल गाउँ मात्र नभई धारापानी, चामे, ताचे, पिसाङलगायत स्थानका समुदायिक तथा निजी आवास डुबानमा परेर ठूलो क्षति बेहोर्नुपरेको थियो । बाढीले चामे गाउँपालिका–१ तिमाङ खोलाको बेली ब्रिजसहित १६ झोलुङ्गे पुल र  आठ-१०  काठेपुल बगाएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख प्रल्हाद दहालले जानकारी दिनुभयो ।  उहाँका अनुसार पुलमा क्षति पुगेपछि स्थानीयवासीलाई एक ठाउँबाट अर्को स्थानमा आवतजावत गर्न समस्या भएको छ । हालसम्म पनि कतिपय स्थानमा पुल निर्माण हुन सकेको छैन । 

यसअघि मनाङमा यस्तो खालको ठूलो बाढी आएको स्थानीयवासीको अनुभवमा नभएको दाहालले बताउनुभयो । “यसअघि २०५२ सालमा मनाङमा केही बाढी आए पनि यस प्रकारको बाढी आएको अनुभव गरेका ज्येष्ठ नागरिक कोही पनि छैनन्, यहाँ यस्तो प्रकारको प्राकृतिक प्रकोप हुनु जलवायु परिवर्तनको असर हो”, उहाँले भन्नुभयो । 

बस्तीमा पानी पर्दा परम्परागत रुपमा निर्मित माटोका छत भएका यहाँका अधिकांश घरमा क्षति पुगेको मनाङ ङिस्याङ गाउँपालिका–१ का ७६ वर्षीय ज्येष्ठ नागरिक एवं चौँरीपालक किसान याङ्दुङ गुरुङले बताउनुभयो । “यस क्षेत्रमा यसअघिका वर्षमा यति धेरै पानी परेको थाहा नै पाइएन । यसरी पानी परेको अनुभव पनि गरेको छैन,” ८५ वर्षीय गुरुङ भन्नुहुन्छ, “आजकल के भएको खै, बर्सेनि हिमालका माथिल्ला बस्तीमा पानी पर्ने क्रम बढ्दै गएको छ ।” बस्तीहरू सङ्कटमा पर्दै गएका अवस्थामा आगामी दिनमा जोखिम अझै बढ्न सक्ने खतरा छ । 

कृषि प्रणालीमा प्रभाव 

पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढीपहिराको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ । गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर मुस्ताङका स्याङ, ठिनीलगायत बस्तीमा पाउन थालिएको छ । 

हिमाली क्षेत्रमा वर्षा हुने र बेमौसममा हिउँ पर्दा यहाँको तापक्रम बढ्दै गएको छ । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा फल्ने स्याउ खेतीको ठाउँ परिवर्तन हुँदै गएको छ । स्याउ पहिलेको आफ्नो ठाउँ छाडेर बिस्तारै माथिल्लो भागतर्फ सर्न थालेको स्थानीयवासी ज्येष्ठ नागरिक बताउँछन् । जलवायु परिवर्तनको असरसँगै मनाङको तल्लो भेगमा पानी पर्न थालेपछि धारापानी, ताल गाउँलगायत स्थानमा स्याउ खेती घट्दै गएको व्यवसायीको अनुभव छ । करिब २०-२५ वर्षअघि यहाँका तल्लो भेगमा स्याउको राम्रो उत्पादन हुने गरेकामा पानी पर्ने क्रम बढेसँगै उत्पादनमा कमी आउन थालेको स्थानीयवासी बताउँछन् ।  बढ्दो तापक्रमकै कारण झन्डै १०÷१२ वर्षअघिसम्म स्याउको राम्रो उत्पादन हुने मुस्ताङको लेतेमा पछिल्ला वर्ष फल फल्नै छाडेको छ । पछिल्लो दुई÷तीन वर्षयता यहाँका माथिल्लो बस्तीमा पानी पर्ने क्रम बढ्दै जाँदा  यसरी कृषि प्रणालीमा प्रभाव परेको देखिन्छ । 

हिमालतिर लामखुट्टे

पछिल्ला वर्ष हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको छ । तथ्यङ्कानुसार पछिल्ला वर्ष पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रम वृद्धि भइरहेको छ । प्राकृतिक एवम् मानवीय दुवै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञको भनाइ छ । यसतर्फ बेलैमा सोच्न नसक्ने हो भने यसले पार्ने दीर्घकालीन असर भयावह हुने बताइएको छ । 

पछिल्ला वर्ष बढ्दो तापक्रमसँगै तराई र मधेसका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झन्डै तीन दशक पुगिसकेको छ ।  एक दशयता हिमाली क्षेत्रमा पनि लामखुट्टे देख्न थालिएको छ । विगतमा लामखुट्टे नदेखिने यस क्षेत्रमा यतिखेर भने त्यसबाट बच्न झुल प्रयोग गर्न लागिएको छ । 

हिमाल पग्लने क्रममा 

तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमाल बर्सेनि कालापत्थरमा परिणत भएका छन् । कम्तीमा पनि ७० प्रतिशत पानीको स्रोत हिमखण्ड भएका अवस्थामा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ । हिमाली क्षेत्रमा वर्षा हुँदा हिमाल पग्लने क्रमसँगै नयाँनयाँ हिमताल बन्ने सम्भावना बढिरहेको छ । यहाँ बेमौसममा बाढी आउन थालेको स्थानीयवासी बताउँछन् । स्थानीयवासीका अनुसार मनाङको मस्र्याङ्दी नदीमा आएको बाढीले पिसाङ, चामे, धारापानी, ताल गाउँका सामुदायिक तथा निजी भौतिक संरचनामा क्षति पुर्‍याएको छ । पछिल्ला दिनमा साना तथा ठूला खोला नदीमा समय समयमा माटोसहितका लेदोसहितको पानी आउने गरेको छ ।

पछिल्ला अध्ययनले जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै गएका छन् । हिमताल सीमामाथि सर्दै नदीहरू हिमालतर्फ सरेको तथ्य बाहिर आएका छन् । नेपालमा मात्र दुई हजार तीन सय २३ हिमताल छन् ।  हिमनदी र हिमाली क्षेत्रबाट हिउँ पग्लँदै जानु गम्भीर चुनौतीका रूपमा देखिएको छ । अहिले विश्वभरका मानिसले पिउने पानीको स्रोत हिमखण्ड हो । वायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पिउने पानीको अभाव देखिन थालेको छ । माथिल्लो मनाङका विभिन्न स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि त्यहाँ खानेपानीको अभाव बढ्दै गएको छ । 
 
असमान हिमपात

जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्ष स्वाभाविक हिउँ पर्न सकिरहेको छैन । हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ । 

मनाङमा कुनै वर्ष अत्यधिक हिमपात हुन्छ भने कुनै वर्ष आंशिक मात्र । कुनै वर्ष हिमपातसँंगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ । विगतमा  हिमपातका कारण सयौंँ याक, चौरी र भेडाच्यांग्रा खर्कमा हिउँमा पुरिएर मरे । त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन । 

ङिस्याङ गाउँपालिका–१ चौँरीपालक किसान याङ्दुङ गुरुङ विगतमा जस्तो हिउँ नदेखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा हिमपात धेरै हुन्थ्यो । चौँरी खर्कहरू हिमपातले पुरिने गथ्र्यो । अहिले बेमौसममा हिमपात हुन्छ । विगतमा कात्तिक, मङ्सिरमा मात्रै हिउँ पर्ने गथ्र्यो तर अहिले बेमौसममा पर्छ । यसले गर्दा वस्तुभाउको चरण क्षेत्र मासिएको छ ।”

चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उहाँको बुझाइ छ । हिउँ परेपछि पानी नपर्ने तर माटो यसैले उर्वर बनाउने हो तर  बेमौसमका हिउँले धेरै वनजङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उहाँ बताउनुहुन्छ ।

बिनाआइइइ  सडक 

मुस्ताङको घर्पाझोङ गाउँपालिकाको ठिनीदेखि तिलिचो तालसम्मको सडक निर्माण सुरु गरिएको छ ।  नेपालको सबैभन्दा उच्च स्थान अर्थात् चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल जोखिममा पर्ने देखिएको छ । 

सडक बनाउने योजना सह्रानीय भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन ९आइईई० नगरी गरिने निर्माणले प्रकृतिमा क्षति पुग्ने देखिएको छ । म्याग्दीको पूर्वाधार विकास कार्यालयले घारपाझोङ गाउँपालिकाको ठिनी गाउँदेखि तिलिचो तालसम्मको ट्रयाक खोल्ने काम सुरु गरिएको जनाएको छ । यसअघि ठिनीदेखि ताङ्दुङसम्म दुई किलोमिटर लामो सडक निर्माण भइसकेको छ । सडक निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ । तालसम्म सडक पु¥याउँदा हिमाली जिल्लाको सौन्दर्य र वातावरणमा प्रभाव पर्ने देखिएको छ । 

भौगोलिकरूपमा विकट तथा प्राकृतिक सौन्दर्यमा रमाउन मनाङमा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्छन् । हिमाली क्षेत्रका प्राकृतिक सौन्दर्यताको संरक्षण गर्नुपर्ने दायित्व वा जिम्मेवारी नेपालीजनको हो, राष्ट्रको हो । 

भौगोलिकरुपमा सहज बनाउने काम गर्दा यहाँको प्राकृतिक सुन्दरताको असर भने पार्न हुँदैन । सडक निर्माण गरिँदा प्राकृतिकरूपमा प्रभाव पार्न सक्ने विषयको अध्ययन अनुसन्धान गरेर मात्रै विकास गर्नुपर्ने देखिन्छ । 

यहाँका हिमाल, प्राकृतिक तथा परम्परागत घर, संस्कृतिको अध्ययन तथा अनुसन्धानमा विशेष गरी विदेशी पर्यटक आउने गर्छन् ।  विगतमा पैदल यात्रामार्फत आउन विशेष रुचाउने भएकाले तिनको रुचिलाई पनि ध्यान दिनुपर्छ ।  हिउँ बेमौसममा पर्दा पर्यटकलाई समस्या हुने गर्छ । भारी वर्षा, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले पनि तिनलाई असर गरेको छ । 

पदमार्गको संरक्षण

मनाङ सडकमार्गसँग जोडिएको लामो समय भएको छैन । विगतमा पैदल यात्राका भरमा धेरै दिन लगाएर पुग्ने गरिएको थियो । स्थानीयवासीको सहजताका लागि विकट क्षेत्रमा पुग्न सडकले सहज बनाएको छ तर भौतिक रुपमा सहज बनाउँदा प्रकृतिमा प्रभाव पर्न सक्ने भएकाले त्यसतर्फ राष्ट्र नै सचेत हुनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का प्रमुख लेखनाथ गौतम बताउनुहुन्छ । “पैदल यात्रामार्फत मनाङ आउने पर्यटकका लागि सहज बनाउने उद्देश्यले गरिएको विकास नै विनाश र आय स्रोत नाश हुने कार्य गर्नुहुँदैन । विकासकै कारण पुराना परम्परा र पैदल यात्रामार्फत आउने पर्यटक घट्ने काम गर्नु उचित होइन । प्रकृतिप्रेमी पर्यटकलाई रुचाउने कार्यमा प्रभाव नपर्ने गरी भौतिक संरचनाको विकास गराउनुपर्दछ”, उहाँ बताउनुहुन्छ । 
    
मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ सडक सफा गर्नाका साथै पैदलयात्रा गर्ने पर्यटक आउने वातावरणमा उचित ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । प्राकृतिक मार्ग तथा पदमार्ग मासिँदा पर्यटक आगमन कम हुनेतर्फ उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । (रासस, नवीन लामिछाने)