बा आज तपाईको स्मृति दिवस !
तपाईंको घरसँगैका सबै स्मृतिहरू कायरहरूले भग्नावशेषमा परिणत गर्दियो । तर तपाईंको त्याग, बलिदान, देशभक्ति र राष्ट्रप्रेम इतिहासका पानामा सधैँ सुनौला अक्षरले लेखिएरै रहने छन् । कसैले पनि इतिहास मेटाउन सक्ने छैन । तपाइँ सधैँ अमर हुनुहुन्छ, रहिरहनु हुनेछ ।
हार्दिक श्रद्धाशुमन ।
नेपालको राजनीतिक इतिहासमा लौह पुरुषको नामबाट समेत परिचित गणेशमान सिंहको आज स्मृति दिवस हो । नेपालका एक प्रजातान्त्रिक योद्धा सिंहको मृत्यु विसं २०५४ असोज २ गते भएको थियो । आज स्मृति दिवसका दिन उनकी बुहारी अर्थात् गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहकी धर्मपत्नीले आज फेसबुकमा यो स्टाटस लेखेर गणेशमान सिंहलाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।
गत भदौको २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गणेशमान सिंहको घर जलाइएको छ । यो उनको पुख्र्यौली सम्पत्ति हो । जुन घर केवल कणेशमान सिंहको सम्पत्ति मात्र थिएन कि नेपालको प्रजातान्त्रिक इतिहासको सम्पदा एवं साक्षी पनि थियो । जो व्यक्ति राणा र राजाका विरुद्ध लडेर नेपालीलाई रैती तथा प्रजाको पहिचानबाट नेपाली नागरिकको पहिचान दिलायो, त्यस्ता व्यक्तिको जन्मघर अहिले खरानीमा परिणत भएको छ ।

आजका दिन कांग्रेसीजनहरु गणेशमान सिंहको घरमा जम्मा हुन्थे, उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने गर्दथे र उनको पहिचान बनेको लौरोदेखि उनले प्रयोग गरेका सरसामाग्रीहरुको अवलोकन गर्ने गर्दथे । एक प्रकारले भन्नुपर्दा नेपाली राजनीतिक इतिहासको संग्रहालयजस्तै थियो त्यो घर । जुन अहिले खरानीमा परिणत भइसकेको छ ।
गणेशमान सिंह नेपाली राजनीतिक इतिहासमा कुनै व्याख्या या विशेषणले चिनाउनु नपर्ने नाम हो । जसले २००७ सालमा राणा शासनका विरुद्धमा लड्यो भने मुलुकमा लोकतन्त्रको स्थापनाका लागि दशकौँसम्म पञ्चायती व्यवस्थाका विरुद्धमा पनि संघर्ष गर्यो ।

प्रजातन्त्र अर्थात नागरिक अधिकारका लागि लड्नु अर्थात संघर्ष गर्नु भनेको अहिले केही विषयमा सडकमा ओर्लिएर नाराबाजी गर्नु र आफूले भनेजस्तो नभएर सार्वजनिक सम्पत्तिमा आगजनी गर्नुजस्तो सजिलो होइन त्यो बेला ।
राणा शासनजस्तो विरोध गर्यो कि झुण्ड्याएर मार्ने जस्तो क्रुरताका विरुद्धमा लाग्नु, आवाज उठाउनु कति कठिन थियो होला ? अहिलेको पुस्ताले त त्यो सम्झन अथवा कम्पनै पनि गर्न सक्दैन होला ।
त्यस्तो बेलामा गणेशमानले संघर्ष गरे । राणा शासन विरुद्धको आन्दोलनमै लागे, पञ्चायती व्यवस्थाको निकै कुटाइ खाए, जेलनेल सहे, दशौँ बर्ष जेल बसे, पछि जेलबाटै सुरुङ खनेर भागे पनि । यसरी पञ्चायत जस्तो तानाशाही व्यवस्थालाई घुँडा टेकाए ।
क्षेत्रपाटीको चाक्सीबारीस्थित उनको घर प्रजातान्त्रिक इतिहासकै धरोहर हो । राण शासन विरुद्ध लड्दा उनी यही घरबाटै जेल परेका थिए र पछि मुक्त भएर पनि सोही घर फर्किएका थिए । क्रान्ति सफल बनएर उनी विसं २००७ सालमा नै उद्योग मन्त्री समेत बनेका थिए ।

विसं २०४६ को जनआन्दोलन नेपालमा प्रजातन्त्र पुनस्र्थापनाको एक ऐतिहासिक आन्दोलन हो । त्यो आन्दोलन नै यही घरबाट घोषणा भएको हो । विसं २००७ माघ ७ गते भारतीय नेता चन्द्रशेखरदेखि अन्य प्रजातन्त्रवादी नेताहरु र नेपालका कांग्रेस र तत्कालीन बाममोर्चाको समर्थन तथा सहभागितामा सो आन्दोलनको सुरुआत भएको थियो ।
२०४६ सालको आन्दोलनका कमाण्डर नै गणेशमान सिंह थिए । उनैको नेतृत्वमा आन्दोलन सफल भयो र पछि राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको घोषण गरे । त्यो आन्दोलनको सफलताको सम्पूर्ण श्रेय गणेशमान नै थिए । पछि उनलाई राजा वीरेन्द्रले नै प्रधानमन्त्रीको अफर गरे ।

कांग्रेस र संयुक्त बाममोर्चाका तर्फबाट पनि उनैलाई प्रधानमन्त्रीको अफर भएको थियो । तर गणेशमानले भने सहजै त्यो अफर अस्वीकार गरे र आफैले कांग्रेस नेता कृषणप्रसाद भट्टराइको नाम प्रधानमन्त्रीका रुपमा अघि सारे । किसुनजी प्रधानमन्त्री भए र विसं २०४७ सालमा संवैधानिक राजतन्त्रतात्मक संविधान जारी गर्न सफल पनि भए ।
यस्ता त्यागी, प्रजातन्त्रका लागि जीवनभर लडेका र नेता गणेशमान सिंहको घर जेननी आन्दोलनले जलाइदिएका छन् । मानिसहरुले अहिले जेनजी आन्दोलनको क्षतिको मूल्यांकन गरिरहेका छन् र क्षतिको एक नम्बरमै छन् सिंहदरबार र सर्वाेच्च अदालत ।

तर पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको मूल्यांकन गर्ने हो भने त्यसले न गणेशमान सिंहको नामविना त्यो पूर्ण हुन्छ र नत चाक्सीबारीस्थित उनको निवासको ऐतिहासिक धरोहरको स्मृति विना नै ।
आज यही विषयमा चर्चा गरे गणेशमान सिंहको स्मृति दिवस मनाउन त्यहाँ जम्मा भएका कांग्रेस तथा अरु पार्टीृका नेता कार्यकर्ताले ।
ती मध्ये केहीले भने उनका छोरा प्रकाशमान सिंह (जो अघिल्लो सरकारका उपप्रधानमन्त्री थिए) लाई गणेशमान सिंह जन्मेको र उनले अन्तिम सास फेरेको सो घरलाई गणेशमान संग्रहालय बनाउन ढिला गरेको पनि बताएका थिए ।
फोटो – मिनरत्न बज्राचार्य










