धनुषा।धनुषामा बढ्दो लागुऔषधको दुव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न अपराध नियन्त्रण गर्न ‘जनसरोकार अभियान’ले सरकारसँग कडा कदम चाल्न माग गरेको छ ।
अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै शान्ति सुरक्षा सुदृढ बनाउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
पछिल्लो समय धनुषामा लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ताहरूको संख्यामा भइरहेको वृद्धिले सामाजिक सुरक्षालाई चुनौती थपेको छ ।
लागुऔषधका कारण चोरी र आपराधिक घटनाहरू बढ्नुका साथै सामाजिक सञ्जालमा अभद्र टिप्पणी, चरित्रहत्या र धार्मिक तथा जातीय सद्भाव खलबल्याउने कार्यहरू भइरहेको अभियानको ठहर छ ।
अभियानले जनकपुरधाम उपमहानगरपालिका–५ मा अमिन सफीमाथि भएको घटनाको सन्दर्भ उठाउँदै यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ । उक्त घटनाका मुख्य दोषी र सहयोगीहरूलाई समेत कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा अभियानले जोड दिएको छ ।
अभियानका संयोजक जितेन्द्र महासेठले सामाजिक सञ्जालमा गलत सूचना फैलाउने, अतिरञ्जित टिप्पणी गर्ने र युवाहरूलाई आपराधिक क्रियाकलापमा आकर्षित गर्ने गिरोहलाई नियन्त्रण गर्न राज्य चुकेको आरोप लगाउनु भयो ।
महासेठले भन्नुभयो, ‘सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन र सीमापारिबाट आउने लागुऔषधको अवैध ओसारपसार रोक्न सुरक्षा निकायको परिचालन प्रभावकारी हुनुपर्छ ।’
ज्ञापनपत्रमा सीमा क्षेत्रबाट भित्रिने प्रतिबन्धित लागुऔषधको आपूर्ति श्रृंखला तोड्न सुरक्षा संयन्त्रलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ ।
धार्मिक तथा जातीय सद्भाव कायम राख्न र सामाजिक सञ्जाललाई कानूनको दायरामा ल्याउन राज्यले तत्काल ठोस नीति र कार्ययोजना अघि सार्नुपर्ने अभियानको जोड छ । –न्युज एजेन्सी नेपाल








