१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब आर्यघाटमै पुगेर कुकुरले मालिकलाई श्रद्धाञ्जली दियो…



अ+ अ-

काठमाडौं । त्यसो त आर्यघाटका सबै दृश्य हृदयविदारक नै हुन्छन् । जहाँ मानिसको इहलिला सकिन्छ, कसैको पार्थिव शरीर अन्त्येष्टिका लागि चितामाथि राखिन्छ, फूलमाला चढाउँदै मानिसहरु अलाप बिलाप गरिएकै हुन्छ ।

शोकाकुल परिवारका आँशु र बिलौनाले सन्नाटा छाउँछ, अनि त्यहाँ पुगेका आफन्त त भैगए, मलामीले पनि मन थाम्न सक्दैनन् ।

कसैको भौतिक शरीर विलिन हुँदैगर्दाको आर्यघाटका यस्तै यस्तै कारुणिक दृश्यहरुमा आज एउटा अनौठो र बडो भावुक दृश्य देखापर्यो ।

अरुबेला जस्तै आज पनि घाटमा थियो एउटा पार्थिव शरीर र त्यसमाथि छपक्कै छन् फूलमाला । आफन्तको अन्तिम विदाइका लागि चितामाथि शोकाकुल परिवारका सदस्य परिक्रमा गरिरहेका छन् । र, उनीहरुसँगै आफ्ना मालिकको अन्तिम विदाईमा कुकुर पनि पार्थिव शरीरको फेरो लाउँदैछ ।

यो भौतिक संसारबाट विदा लिँदै गरेका मालिकलाई विधिपूर्वक विदाई गर्दैछ एउटा सेतो रंगको कुकुर । अनि, परिवारका अरु सदस्य जस्तै उ पनि मालिकको विदाइको क्षणमा निकै हतास देखिन्छ, अनुहार मलिन देखिन्छ ।

यसो हेर्दा लाग्छ, शोकाकुल परिवारका अरु सदस्यका जस्तै उसका आँखामा पनि गहभरि आँशु देखिन्छ । शब्दले व्यक्त गर्न नसकेपनि मनमनै श्रद्धाञ्जली भनिरहेको छ उसले ।

उसले आज अन्तिम विदाई गरेका मालिक हुन् रुपक दर्शन । उनैले बडो माया गरेर पालेका थिए उसलाई । रुपकको दुई दिनअघि निधन भएको थियो र आज आर्यघाटमा अन्त्येष्टि ।

रुपक मुटु, मिर्गौला र फोक्सोसम्बन्धी रोगसँग जुधिरहेका थिए । उनको त्यो १४ बर्षे कुकुर उनले अन्तिम सास फेर्दासम्म पनि आफूसँगै थियो ।

तिनै रुपकले आफ्नो मृत्युपछि कुकुरलाई आर्यघाटमा ल्याउनु भनी अन्तिम इच्छा व्यक्त गरेका रहेछन् र सोही बमोजिम उसलाई पनि त्यहाँ पुर्याइएको पशुप्रेमी इरफान खानले जानकारी दिए ।

इरफानले भने ‘रुपक दाइले आफ्नो निधनपछि कुकुरलाई पनि श्रद्धाञ्जली दिनका लागि घाटसम्म लैजानु भनेका थिए । त्यही अनुसार हामीले कुकुरलाई आर्यघाटमा लगेर अन्तिम संस्कारमा सहभागी गराएका हौं ।’

आज घाटमा उपस्थित आफन्त, मलामी र अरुहरुले पनि यो बडो अनौठो तर दुःखदायी दृश्य देखेका थिए । उनीहरु भन्दै थिए, यो पशुप्रेम निकै उच्च कोटीको रहेछ, जीवनमा पहिलो पटक देखिएको यस्तो दृश्यले निकै भावुक बनायो ।

कसैको मृत्युपछि यसरी अन्तेष्टिमा कुकुरलाई सहभागी गराइएको यो दुर्लभै घटना हो । कुकुरलाई उनले बच्चैदेखि पाल्दै आएका थिए ।

यो पुन्टु नामको कुकुर त उनले माया गरेर पालेकै कुकुर हो । तर पनि अविवाहित रुपक दर्शनले जीवनभर सडकका कुकुरको स्यहारसुसार गरेका थिए । सडकका कुकुरलाई खाना खुवाउने, उपचार गर्ने, स्यहार गर्ने काममा उनी लाग्दथे । काठमाडौंको जैसीदेवलमा डेरा लिएर बस्दै आएका रुपकले दुई वटा कुकुर डेरामै पालेका थिए । अर्को कुकुर भने सानै छ ।

उनका छिमेकीहरु भन्छन्, रुपकलाई आफैलाई महिना गुजार्न गाह्रो थियो तर गल्लीका कुकुरहरुको सेवा भने गर्ने गर्दथे । पछिल्लो समय आफ्नै उपचार खर्च नहुँदा पनि उनले कुकुरको सेवामा लागि पर्दथे । ती दुवै कुकुर रुपकको निर्जीव शरीर देखेपछि उदास भएका छन् । अन्तिम सम्म उनीसँगै रहेका ती दुई कुकुरलाई एउटा सेल्टरमा राखिने खानले बताए ।

फोटो-भिडियो:इरफान खान