२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपार्इ चितवन राष्ट्रिय निकुञ्ज जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !



अ+ अ-

के तपार्इं चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ ।

ती सुरक्षाकर्मीले तपाईंले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईंले कपडाको झोला पाउनुहुने छ । जहाँ लेखिएको छ, ‘प्लाष्टिक नाई भन्नु ल !’ त्यही झोलामा तपाईंका सामग्री रहने छन् । तत्कालका लागि प्लाष्टिकका झोलाबाहेक अन्य सामग्री लैजान पाए पनि सुरक्षा पोष्टमा टिपाएर कपडाको झोलामा राखेर लान पाइने छ ।

फर्कंदा ती सामग्रीका खोल आफूसँगै फिर्ता ल्याउनुपर्ने छ । अन्यथा तपार्इं कारवाहीमा पर्नुहुने छ । पहिलो चरणमा झोलाबाट शुरुआत गरिएको यो अभियान क्रमशः पानीका बोतल, खानेकुरा हुँदै पूर्णरूपमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जले मङ्गलबार वृहत कार्यक्रमको आयोजना गरी निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र अभियानको शुभारम्भ गरेको छ । जनप्रतिनिधि, कर्मचारी, सरोकालवाला निकायलगायतको सहभागितामा निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । सहभागीले निकुञ्जको सो अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

सो अवसरमा प्रदेश नं ३ को वातावरण समितिका सभापति रमा आलेमगरले प्लाष्टिकलाई पुनः प्रयोग गर्न र अभियानलाई सार्थक बनाउनुपर्ने बताउनुभयो । तीन वर्षभित्र प्रदेशलाई प्लाष्टिकमुक्त प्रदेश बनाउन र १० वर्षभित्र इन्धनबाट चल्ने गाडी निषेध गर्न लागेको भन्दै उहाँले यस्ता अभियान सफल पार्न सबैले साथ र सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल र रामलाल महतोले निकुञ्जभित्र प्रदुषण कम गर्न निकुञ्जसँग जोडिएका क्षेत्रमा प्लाष्टिकको प्रयोगमा कमी ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का र वन तथा भूसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्सालले अभियान सफल पार्न मध्यवर्तीका बासिन्दाको सहयोग आवश्यकपर्ने बताउनुभयो ।

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्जभित्र प्लाष्टिकको झोला नलैजान, त्यसको विकल्पमा कपडाको झोला प्रयोग गर्न, प्लाष्टिकको बोतलसँगै प्लाष्टिकजन्य फोहरलाई निकुञ्जभित्र नछोड्न र त्यसलाई बाहिर सुरक्षा जाँच गर्ने ठाउँको डस्विनमा राख्न आग्रह गर्नुभयो ।

निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रीउजस्ता खोलाबाट वर्षाको समयमा बगेर आउने प्लाष्टिक तत्काल सफा गरिने भएको छ । निकुञ्जकका कर्मचारी, वाह्य पर्यटक र निकुञ्जको बाटो भएर जाने यात्रुबाट प्लाष्टिक सङ्कलन हुने गर्दछ । निकुञ्जमा रहेका वन्यजन्तुले ती प्लाष्टिक खाएर मृत्युसमेत हुने गरेको छ भने वर्षाँैसम्म नसड्ने हुँदा वातावरणीय सन्तुलनमा खलल ल्याउने बताइन्छ ।

सो अवसरमा आफ्नो प्रस्तुतीकरण गर्दै हिमालयन क्लाइमेटका प्रमुख कार्यकारी अधिकृत सिलसिला आचार्यले विगत ७० वर्षदेखि नेपालमा प्लाष्टिक प्रयोग हुन थालेको भन्दै यसले दीर्घकालीन असर पार्ने बताउनुभयो । दैनिक दुई करोड प्लाष्टिकका झोला नेपालमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । यी झोला पेट्रोलियम उत्पादन भएकाले जलवायु परिवर्तनमा नकारात्मक असर पर्छ ।

प्लाष्टिककै कारणले प्रत्येक वर्ष विश्वमा एक लाखभन्दा बढी जलचर मर्ने गरेको भन्दै उहाँले आगामी १२ वर्षभित्र प्लाष्टिक व्यवस्थापन गर्न नसके जलवायु परिवर्तनमा ठूलो असर पर्ने बताउनुभयो । विश्वका ५० देशले प्लाष्टिकका झोला प्रतिबन्ध लगाएको पनि उहाँले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुसहितको बासस्थान हो । विसं २०३० असोज ४ गते स्थापना भएको सो निकुञ्ज ९५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मध्यवर्ती क्षेत्र ७२९ वर्ग किलोमिटर छ । यो देशका पाँच जिल्लामा पर्दछ । सन् १९८४ मा निकुञ्ज युनेस्कोको सूचीमा परेको थियो ।

निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणी पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गूर बाँदरलगायत पर्छन् । निकुञ्ज घुम्न आन्तरिक र बाह्य गरी वार्षिक झण्डै दुई लाख पर्यटक आउने गरेका छन् । रासस




भर्खरै