६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडान सङ्कटः सेनाको गोली लागि १०० जनाभन्दा बढीको मृत्यु



अ+ अ-

काठमाडौं । सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या १०० जनाभन्दा बढी पुगेको छ ।

अर्धसैनिक बलले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि हिंसात्मक आक्रमण गर्दा कम्तीमा एक सय जनाको मृत्यु भएको हो । राजधानी खार्तुमको नाइल नदीबाट ४० वटा शव निकालिएको दाबी विपक्षी कार्यकर्ताहरूले गरेका छन्।

तर सुडानको स्वास्थ्य मन्त्रालयले सय जनाको मृत्यु भएको भन्ने विवरणको खण्डन गर्दै अहिलेसम्म हताहत हुनेको सङ्ख्या ४६ मात्र भएको दाबी गरेको छ।

खार्तुमबाट प्राप्त विवरणहरूका अनुसार र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) भनिने अर्धसैनिक बल सहरका सडकमा घुमिरहेको छ र उसको निसानामा सर्वसाधारण परेका छन्।

यता परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ ।

सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराइने बताए ।

तर सैनिक कारबाही र चुनावको घोषणा गरिए पनि राजधानी खार्तुममा प्रदर्शन रोकिएका छैनन् । विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेको सेनाले सैनिक परिषद् गठन गरी तीन वर्षभित्र नागरिकलाई सत्ता सुम्पन सहमति जनाएको थियो । तर नागरिकस्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको हो ।

सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।

धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको हो । प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् ।
आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो सङ््ख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

संयुक्तराज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् । यी दुवै मुलुकले नागरिकलाई शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन् । सुडानको प्रभावशाली नागरिक संस्था चिकित्सकहरूको केन्द्रीय टोलीले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएको छ ।

रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य सङ्घसंस्थाले पनि खार्तुममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू मारिएको र आपत्कालीन सहयोगको आवश्यकता परेको बताएका छन् ।

सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैँले लिएको थियो ।

सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न सर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।