काठमाडौं । काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजबाट ९ बालबालिकालाई उद्दार गरिएको छ । उद्दार गरिएका सबै बालबालिका १२ वर्ष मुनिका छन् ।
बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएपछि उनिहरुको उद्दार गरिएको हो ।
बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले बालबालिकाको बाल यौन दूराचार भएको सुन्न आएको भन्दै उनले यस विषयमा अनुसन्धान गर्ने जानकारी दिए ।
‘यहाँ बालबालिकाको अवस्था दयनीय देखियो, उनीहरुको कसैले जिम्मा नलिएको देखियो । जिम्मा लिने संस्था सीडीओ कार्यालयमा दर्ता भएको पनि देखिएन’ केसीले भने, ‘एब्युजको कुरा पनि आएको छ, यो गम्भीर हो ।’
संस्थाको रेकर्डमा १५ जना बालबालिका रहेको देखिए पनि संस्थामा ९ जनामात्र भेटिएका छन् । अन्य ६ बालबालिकाबारे खोजी भइरहेको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।यता द्वन्द्वपीडित अभिभावककका बालबालिकालाई पढाइदिने भनेर ल्याएको तर पढ्न नपाएको बालबालिकाहरुले बताएका छन् ।