काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि वर्षा र केही प्राविधिक कारणले मतदान तीन घण्टा ढिला हुने भएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभयो।
मतदानका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।
खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन्।
त्यसैगरी प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।








