काठमाडाैँ । मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग कार्ययोजना अघि बढाएको छ ।
सामुदायिक वनभित्रका पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधारको विकास गर्दै सामुदायिक वनसँगको साझेदारीमा पर्यटन क्षेत्र एवं वनभोजस्थलका रूपमा विकास गर्ने नीति अघि सारेको छ ।
पालिकाले त्यसका लागि सामुदायिक वनसँगको सहकार्यलाई अघि बढाउन लागेको हो । गाउँपालिकामा ६० वटा सामुदायिक तथा निजी र कवुलियती वन रहेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो ।
पर्यापर्यटनको विकासको योजनासहित समुदायसँगको सहकार्यमा पर्यटकीय उपयोग र अन्य आयआर्जनका कार्यक्रम साझेदारीमा बढाउने गाउँपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
पर्यटनकै विकासलाई लक्षितगरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
पदमार्ग तथा साइक्लिङ मार्गको पहिचान गरी पूर्वाधार निर्माण गर्ने तथा खोला किनारामा रहेका पदमार्गलाई नदी करिडोरको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।
बकैयाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जैविक पर्यटकीय क्षेत्र अम्बास गढी, लटलम्बेश्वर, गौतम बुद्ध पर्यटकीय पार्क, भीमसेन मन्दिर, धनेश्वर पार्क, भुवनेश्वरी, रुद्रस्थली, नाग झरनालगायतका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी प्रचारप्रसार गर्न वृत्तचित्र एवं पुस्तिका प्रकाशन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पालिकास्तरीय ध्यान केन्द्र निर्माणमा सहजीकरण गर्ने, सार्वजनिक–निजी साझेदारीमा परम्परागत कृषिलाई प्रविधिको माध्यमबाट नमूना कृषि पर्यटन विकास कार्यक्रम सञ्चालनको लागि आवश्यक पहल गर्नेलगायतका विषयलाई पालिकाले प्राथमिकतामा राखेको छ ।
तामाङ, घले, सिकारी सुनुवार, दनुवार तथा माझीलगायतका आदिवासी जनजाति र खसआर्य समुदायमा आधारित घरबास कार्यक्रम सञ्चालनका लागि आवश्यक पहलसमेत गरिने उपाध्यक्ष खत्रीले बताउनुभयो ।








