काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मनोजमणि आचार्यले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । उनले खस आर्यतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
आचार्यले गत पुसमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । विशेष महाधिवेशन सम्पन्न गराउन सक्रिय भूमिका खेले पनि उनले कुनै पनि पद नलिने निर्णय गरेका थिए ।

पार्टीलाई संविधान र विधानअनुसार सञ्चालन गर्नुपर्ने धारणा राख्दै आचार्यले पदभन्दा संगठन र पार्टीको संस्थागत प्रक्रियालाई प्राथमिकता दिएको बताउँदै आएका छन् ।
त्यसैगरी, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समेत उनले उम्मेदवारी दिएका थिएनन् । निर्वाचनमा उम्मेदवार नबनी पार्टी संगठनलाई सुदृढ र व्यवस्थित बनाउन आफू केन्द्रित भएको आचार्यको भनाइ छ ।
आचार्य लामो समयदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । उनले कांग्रेसका नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेसँग नेपाल विद्यार्थी संघको राजनीतिमा सँगसँगै काम गरेका थिए ।







