काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेकी मुख्य सचेतक रोशनी मेचेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले सरकारको दुई तिहाइको दम्भका कारण सुशासन ओझेलमा परेको आरोप लगाउनुभयो । उहाँले सर्वसाधारण नागरिक महँगी र दैनिक उपभोग्य वस्तुको अभावबाट प्रभावित भइरहेको बताउनुभयो ।
सांसद मेचेले सरकार गठन भएयता सेयर बजारमा निरन्तर गिरावट आएको र निजी क्षेत्रमा निराशा बढेको भन्दै अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको दाबी गर्नुभयो । चाडपर्व नजिकिँदै गर्दा बजारमा महँगी बढेको र ग्यासको अभावसमेत देखिएको उहाँको भनाइ थियो ।
सरकार मुद्रास्फीति नियन्त्रण गर्न असफल भएको दाबी गर्दै उहाँले गत वर्षको तुलनामा यस वर्ष मुद्रास्फीति उल्लेख्य रूपमा बढेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, “आफूले त ग्यास पाउन सकेकी छैन भने सामान्य जनताको अवस्था के होला ? हामीले सरकारबाट ठूलो आशा गरेका थियौँ, तर विकास निर्माणका काम ठप्प छन् र बजेट कार्यान्वयन हुन सकेको छैन । मन्त्रीहरूको गैरजिम्मेवार अभिव्यक्तिले समेत नागरिकमा निराशा छाएको छ ।”
संवैधानिक निकायका पदाधिकारीमाथिको व्यवहार, साइबर अपराधमा भइरहेको वृद्धि तथा विपद् व्यवस्थापनमा संघीय सरकारको कमजोर उपस्थितिप्रति समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।








