काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा गरिएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका हुन्।
नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँ राशिको १५ दिने बम्पर उपहार जितेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।

उपहार घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई टेलिफोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबारमा बिल लिएर सहभागी भएका उपभोक्ताका कुल ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।
तीमध्ये नगद कारोबारमार्फत बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ कारोबार रहेका थिए। त्यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार उपहारका लागि योग्य भएका थिए।
कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपनसमेत सार्वजनिक गरिएको छ।







