काठमाडाैँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाउँदै देशभित्रै प्रभावकारी रूपमा डीएनए परीक्षण गर्न सक्ने क्षमता विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो समयदेखि गठन आदेशका भरमा सञ्चालन हुँदै आएको प्रयोगशालालाई अब ऐनमार्फत व्यवस्थित संरचनामा लैजान लागिएको बताउनुभयो।
उहाँले भोटेकोशी बाढीका क्रममा पीडितको डीएनए परीक्षण गर्नुपर्दा प्रयोगशालाको कमजोर क्षमता देखिएको उल्लेख गर्नुभयो। त्यसबेला विदेशी टोलीको सहयोग लिनुपरेको भन्दै उहाँले डीएनए परीक्षणका लागि नेपालकै क्षमता र पूर्वाधार बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

मन्त्री पुनका अनुसार हाल प्रयोगशाला टहरा तथा भाडाका घरमा सञ्चालन गर्नुपर्ने अवस्था छ। विधेयक पारित भएपछि आवश्यक जग्गा प्राप्ति गरी आफ्नै भवन निर्माण गर्न सहज हुने उहाँले बताउनुभयो। काठमाडौंस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) परिसरमा अत्याधुनिक भवन निर्माणका लागि डिजाइनको काम अघि बढिसकेको उहाँले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षको बजेटबाट विधि विज्ञान प्रयोगशालाको आधुनिकीकरणका लागि मन्त्रालयले गृहकार्य अघि बढाएको पनि मन्त्री पुनले बताउनुभयो। उपकरण खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको र भवन निर्माणका लागि थप बजेटको व्यवस्था गरिने उहाँको भनाइ थियो।
देशभर सञ्चालनमा रहेका साना विधि विज्ञान प्रयोगशालालाई समेत आधुनिकीकरण गर्ने तथा बाँकी प्रदेशमा पनि प्रयोगशाला स्थापना गर्ने सरकारको योजना रहेको मन्त्री पुनले जानकारी दिनुभयो।
संसदीय समितिमा डीएनए सुरक्षाका विषयमा गहन छलफल भएको स्मरण गर्दै उहाँले न्याय सम्पादनसँग प्रत्यक्ष जोडिएको डीएनए परीक्षण अत्यन्त संवेदनशील विषय भएकाले यसको सुरक्षा र परीक्षणको शुद्धतामा कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभयो।







