काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने अन्तिम शृंखलाका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा सन्दीप लामिछानेसँगै आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्।
यसपटक कुशल भुर्तेल भने टोलीमा परेका छैनन्।
अक्टोबर ७ देखि ओमानमा सुरु हुने यो शृंखला लिग–२ को अन्तिम शृंखला हो। नेपालले शीर्ष चारमा स्थान बनाउनका लागि ओमानमा हुने खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाब छ।
लिग–२ मा ३२ खेल खेलेको नेपालले ११ खेलमा जित र १९ खेलमा हार बेहोर्दै २४ अंक जोडेको छ। नेपाल तालिकाको सातौँ स्थानमा छ।
तालिकामा ३६ खेलबाट ४५ अंकसहित स्कटल्यान्ड पहिलो स्थानमा छ। ३२ खेलमा ४३ अंक जोडेको अमेरिका दोस्रो, ३८ अंकसहित नेदरल्यान्ड्स तेस्रो, ३१ अंकसहित ओमान चौथो, २८ अंकसहित नामिबिया पाँचौँ र २५ अंकसहित क्यानडा छैटौँ स्थानमा छन्। नेपालपछि यूएई १८ अंकसहित आठौँ स्थानमा छ।








