काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथि थप अनुसन्धानका लागि एक दिनको म्याद दिएको हो।
बन्दी प्रत्यक्षीकरणको रिटमार्फत प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त रिटमा सर्वोच्च अदालतले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
प्रसाईंलाई गत असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले प्रसाईंमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रसाईंले युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गर्दै उनका छोराको मृत्युसँग सांसद पद साटेको आशयको अपमानजनक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो।








