काठमाडौं । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु हुँदैछ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम रहेको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन कार्यक्रममा थारू नृत्य र नौमती बाजासहितका सांस्कृतिक प्रस्तुति रहनेछन्। उद्घाटनपछि युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल आयोजना गरिनेछ।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको मन्त्रालयले जनाएको छ। आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगारी मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता तथा तालिम प्रदायकको परिचय र सूचना–परामर्श सेवा सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन्। तालिममार्फत युवालाई बजारको आवश्यकता अनुकूल सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको छ।
मेला अवधिभर विभिन्न प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान र उद्यमशीलतासम्बन्धी छलफल निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।







