म्याग्दी। यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनस्र्थापनाकार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।
सात जनाको ज्यान गएको, दुई जना बेपत्ता भएको, सडक, विद्युत्, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको आधारमा म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी, म्याग्दीमा बाढीपहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपन्छी क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गर्न मङ्गलबारदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै छवटै पालिकामा क्षति विवरण सङ्कलन सुरु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म प्राप्त विवरणअनुसार बाढीपहिरोले बेनी नगरपालिकामा २३, रघुगङ्गामा तीन, मङ्गलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरिमा एकवटा घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ ।
बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ । रासस








