काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने भए पनि न्यायिक प्रणालीमा कमजोर र शक्तिशाली व्यक्तिबीच फरक व्यवहार हुने अवस्थाप्रति प्रश्न उठाउनुभएको हो।
उहाँले गरिब व्यक्तिले हतारमा प्रमाण छाडेर चोरी गर्दा पक्राउ परी दण्डित हुने तर पहुँचवाला तथा सम्पन्न व्यक्तिले प्रमाण नछोडी अपराध गर्दा सबुत नभेटिएको भन्दै निर्दोष ठहरिने अवस्था कस्तो न्यायिक प्रणाली हो भन्दै प्रश्न गर्नुभएको छ।
भट्टराईले देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि त्यस्तो गतिविधि गरिरहने विभिन्न भेषधारी गिरोहलाई नियन्त्रण नगरी सुशासन र समृद्धिको सही सुरुवात हुन नसक्ने धारणा राख्नुभएको छ।








