काठमाडौं । नेकपा (एमाले) की सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नगराइएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै सांसद हमालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री स्वदेश फर्किए पनि भ्रमणको उद्देश्य, एजेन्डा र उपलब्धिबारे संसदलाई जानकारी नगराइएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री कार्यकारी प्रमुख हुनुका साथै प्रतिनिधि सभाबाट निर्वाचित सदस्यसमेत भएकाले सरकारका महत्वपूर्ण गतिविधिबारे सदनप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रसंघजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा भ्रमणअघि र भ्रमणपछि संसदलाई जानकारी गराउने संसदीय अभ्यासलाई सरकारले गम्भीरतापूर्वक नलिएको उहाँको आरोप थियो ।
‘प्रधानमन्त्रीज्यू विदेश जानुअघि यस सम्मानित सदनलाई भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रहितका प्राथमिकताका बारेमा जानकारी गराउनु पर्दथ्यो । साथै, फर्किएपछि पनि भ्रमणबाट प्राप्त उपलब्धि र भएका महत्वपूर्ण भेटवार्ताबारे संसद्लाई जानकारी गराउनुपर्ने संसदीय परम्परा हो,’ उहाँले भन्नुभयो ।
सांसद हमालले संसदलाई जानकारी नदिई गरिने यस्ता भ्रमणले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाउने बताउनुभयो । उहाँले सरकारका कामकारबाही पारदर्शी र संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै आगामी दिनमा यस्ता विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।








