काठमाडाैँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न क्षेत्रमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले विशेषगरी जलविद्युत् आयोजना तथा सुरुङ निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे सूचना सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले भोजपुर र म्याग्दीका घटनालाई उल्लेख गर्दै सञ्चार सम्पर्क विच्छेद हुँदा प्रभावित क्षेत्रमा रहेका नागरिकको अवस्थाबारे जानकारी लिन कठिन भइरहेको बताउनुभयो । म्याग्दीमा कार्यरत एक युवा सम्पर्कविहीन भएपछि उनका परिवारले आफूलाई सम्पर्क गरी चिन्ता व्यक्त गरेको जानकारी पनि उहाँले सदनलाई गराउनुभयो ।
सञ्चार सुविधा अवरुद्ध भएका कारण प्रभावित क्षेत्रमा भएको मानवीय क्षति र नागरिकको अवस्थाबारे यकिन विवरण प्राप्त हुन नसकेको उहाँको भनाइ थियो । स्थानीय प्रशासनसँग समन्वय गर्दा समेत पर्याप्त सूचना प्राप्त हुन नसकेको भन्दै सांसद राईले तत्काल सञ्चार सेवा सुचारु गर्न सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले नागरिकको सुरक्षा र सूचना पाउने अधिकार सुनिश्चित गर्दै सम्पर्कविहीन तथा बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
यसअघि पनि आफूले सरकार प्रमुखलाई विभिन्न जिम्मेवारी र कामको अवस्थाबारे सदनमार्फत प्रश्न गरे पनि त्यसको जवाफ नआएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।







