काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले देशका विभिन्न भागमा चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला सरकारले उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्थामा पर्याप्त ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।
उहाँले विपद्का कारण नागरिक समस्यामा परिरहेका बेला सरकारको ध्यान अन्यत्र केन्द्रित भएको भन्दै तत्काल पीडितको उद्धार तथा राहतमा जुट्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश जबराको मध्यरातमा गरिएको गिरफ्तारीबारे दुलालले पक्राउ पुर्जीबिना गरिएको कारबाही कानूनी राज्यको मान्यताविपरीत भएको दाबी गर्नुभयो । उहाँले सरकारलाई प्रश्न गर्दै भन्नुभयो, “हामी कानूनी राज्यमा छौँ कि अराजकताको बाटोमा? यो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन । खाएपछि मध्यरातमा जोश र मध्याह्नमा होस आउँछ ? सरकारले यसको जवाफ दिनुपर्छ ।”
सुरक्षा थ्रेटको कारण देखाउँदै गरिएको गिरफ्तारी र १२ घण्टा नबित्दै भएको रिहाइले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाइ थियो ।
विगतमा पूर्वप्रधानमन्त्री र अहिले पूर्वप्रधानन्यायाधीशमाथि गरिएको व्यवहारले कानूनी राज्यको उपहास भएको दाबी गर्दै दुलालले सरकारलाई संवैधानिक र कानूनी बाटोबाट राज्य सञ्चालन गर्न सचेत गराउनुभयो ।
तस्बिरः प्रदीपराज वन्त/रासस







