काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा सांसद पद्माकुमारी अर्यालले असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण मुलुकभर भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै तत्काल उद्धार तथा राहतको काम युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अर्यालले विपद्बाट भएको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्दै प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनाका लागि राष्ट्रिय गुरुयोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार प्रारम्भिक विवरणअनुसार देशभर बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता र चार जना घाइते भएका छन् । बाढीपहिरोका कारण ४२९ घरधुरीका करिब १ हजार ५०० नागरिक विस्थापित भएका छन् । त्यस्तै, १८९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७० घर उच्च जोखिममा रहेका छन् ।

सांसद अर्यालले आफ्नो जन्मथलो स्याङ्जाको सेतीवेणी क्षेत्रमा कालीगण्डकी नदीको बाढीले ठूलो क्षति पुर्याएको बताउनुभयो । स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीमा भौतिक संरचनाका साथै धार्मिक तथा सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बाढीले बगाएपछि स्थानीयको जनजीवन प्रभावित भएको उल्लेख गर्दै उहाँले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, उपचार र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा सञ्चार सेवा तत्काल पुनःस्थापना गर्नुपर्ने उहाँको भनाइ थियो ।
अर्यालले तत्कालका लागि कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फ जाने सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विपद् व्यवस्थापनका लागि सरकारले तत्काल आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउँदै उहाँले जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीको दीर्घकालीन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय गरी राष्ट्रिय गुरुयोजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद अर्यालले विपद्को पूर्वानुमान तथा व्यवस्थापनमा देखिएका कानुनी अड्चन हटाउन आवश्यक कानून तत्काल निर्माण गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।







